Logo

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने



काठमाडौं,१ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको प्रारम्भिक सुनुवाई मंसिर ४ गतेका लागि तोकिएको छ । भोलि शनिबा र ३ गते छठ पर्वको बिदा भएको कारण सोमबार रिटको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै अधिवक्ता स्वागत नेपाल, दिनेश त्रिपाठीसहित ६ जनाले सरकारको निर्णयमाथि चुनौती दिई रिट निवेदन दर्ता गराएका छन् ।

टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्देशिका ल्याएर नियमन गर्ने प्रक्रियामा गएको सरकारले हठात बन्द गर्ने निर्णय गरेको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने माग गरेरे रिट हालेको अधिवक्ता नेपालले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको हाल चौतर्फी विरोध भईरहेको छ । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गरेर तानाशाह प्रवृत्ति लाद्न खोजेको भन्दै विरोध भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्