काठमाडौं,१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरी समायोजन ऐन तत्काल कार्यान्वयनमा आउने दाबी गरेका छन् ।
शुक्रबार तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै दाहालले प्रहरी ऐन एक दुई दिनमा कार्यान्वयनमा आउने बताएका हुन् । उनले प्रहरी समायोजन ऐन कार्यान्वयनमा आएपछि सबै प्रदेशहरुका आ आफ्नै प्रहरी हुने पनि बताए । ‘सेना र प्रहरी नभएसम्म प्रदेश सरकारले कसरी ल एन्ड अर्डर मेन्टेन गर्छ, अब प्रदेश सरकारसँग लाठी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यसका लागि आफूले सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रीसँग तीन/चार दिनदेखि प्रधानमन्त्रीको कार्यालयमा लगातार छलफल गरिरहेको प्रधानमन्त्री प्रचण्डले बताए।
उनले प्रदेश शक्तिशाली बन्न प्रहरी समायोजन ऐन, संघीयन निजामती ऐन र संघीय शिक्षा ऐन गरी तीनवटा ऐन अपरिहार्य रहेको बताए।
‘संघीय निजामति ऐन धेरै मेहनत गरेर बनाइएको छ। गठबन्धनभित्र सहमति गराउने आफैंमा चुनौतीपूर्ण काम थियो। सहमति भएको छ। क्याबिनेटबाट पास पनि भएको छ अब सदनभित्र लगेर त्यसलाई पारित गर्ने हो,’प्रचण्डले भने।
प्रहरी समायोजन ऐनको कार्यान्वयन गर्न माग गर्दै प्रदेश सरकारहरु धमाधम संघीय सरकारविरुद्ध आन्दोलनमा होमिने तयारीमा रहेका छन् । कोशी, मधेश र बागमती प्रदेशले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बागमती प्रदेशले संघीय सरकारविरुद्ध अधिकार माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । भने मधेश सरकारले १ महिनाको अल्टिमेटम दिएर प्रहरी समायोजन ऐन कार्यान्वयनको माग गरेको छ । उता कोशीका मुख्यमन्त्री केदार कार्कीले पनि प्रदेशलाई संविधानमा सुनिश्चित गरिएको अधिकार नदिएमा सिंहदरबारमा धर्ना बस्ने चेतावनी प्रदेश सभाको बैठकबाटै दिएका छन् ।