Logo

इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आग्रह



नयाँदिल्ली, १ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।

“यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।

आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ । “हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ”, संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भने, “भ्वाइस अफ ग्लोबल साउथ २१औँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो, भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।”

जलवायु वित्त, विकासशील मुलुकहरूको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भरत्सर्ना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताए । “अक्टोबर ७ मा इजराइलमा भएको आतङ्कवादी हमलाको भारतले निन्दा गर्दछ, हामीले पनि संयमता अपनाएका छौँ, हामीले संवाद र कूटनीतिमा जोड दिएका छौँ, हामी इजराइल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ”, उनले भने । रासस



प्रतिक्रिया दिनुहोस्