काठमाडौं, ३ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुरले संघीय सरकारले यथासमयमै प्रदेश सरकारलाई अधिकार दिनुपर्ने औंल्याएका छन् ।
‘संविधानको मर्म र भावना अनुसार प्रदेशले अधिकार पाएका छैनन् । प्रदेशसँग साधन स्रोत छैन । अधिकारमाथि पनि अंकुश लगाएको देखिन्छ । अस्ति मधेस प्रदेशका दुई जना मलाई भेट्न आउनुभएको थियो । प्रधानमन्त्रीलाई प्रदेशलाई अधिकार दिन एक महिनाको समय दिएको बताउनुभएको थियो । नदिए माइतीघर मण्डलामा मुख्यमन्त्री, मन्त्री, सांसदहरु धर्नामा बस्ने भन्नुभएको छ । यो मधेस प्रदेशको मात्र कुरा होइन नि, सबै प्रदेशलाई अधिकार चाहिएको छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता ठाकुरले देश र जनता कठिन अवस्थामा भएकाले अहिले कुनै पनि आन्दोलन घातक हुने बताए । उनले थपे, ‘अहिले विविध तत्वले आन्दोलन गर्न खोजिरहेका छन् । तर जनता कठिन अवस्थामा छन् । हामीले पनि संविधान संशोधन गर्न खोजेकै हो । अहिले आन्दोलनको समय छैन । त्यो भनेको जनतालाई दुःख दिनु मात्र हो ।’
राजतन्त्रका लागि आन्दोलन आवश्यक नभएको ठाकुरको जिकिर छ । उनले भने, ‘ठूलो संघर्ष गरेर गणतन्त्र लोकतन्त्र आएको छ । राजतन्त्रका लागि आन्दोलन वाहियात र बेकार हो । देशलाई नोक्सान गर्ने काम हो । मरेको साँपलाई गलामा लगाएर के पाउने ? राजतन्त्रको पक्षमा जनता किन आउँछन् ? राजा विष्णुको अवतार थिए होला कुनै बेला । अब विष्णु लोप भइसकेका छन् । हामी त्यसको विरुद्धमा जान्छौं ।’
गणतन्त्रमा पूर्वराजाको प्रशस्ति र गुणगान गाउनु अपराहन हुने उनले बताए । ठाकुरले भने, ‘यहाँ राजावादीले अपराधीजस्तो भाषाको प्रयोग गरेर धम्की दिइरहेका छन् । हातहतियार देखाउने, सेना बनाउने काम गरिरहेका छन् । पूर्व महाराज बनेर प्रशस्ति गाइरहेका छन् । यस्ता अपराधीले सजाय पाउनुपर्छ । यस्तो गर्दै गए हेलिकप्टर चढेर भाग्नुपर्ला पूर्वराजालाई । राजा विष्णु हो भने विष्णुलोक नै जानुपर्छ । यहाँ बस्ने अवस्था नै छैन ।’
तीन करोड नेपाली नै समस्यामा रहेको र बिस्तारै समाधान हुँदै जाने उनले बताए । ठाकुरले भने, ‘थालको खाना एकैचोटि खान सकिन्छ र ? बिस्तारै खाने त हो नि । लोकतन्त्रमा कमसेकम बोल्न त पाइन्छ नि । यो यसको सकारात्मक पक्ष हो ।’ टिकटक प्रतिबन्धमा तपाईंको प्रतिक्रिया के हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले सोसल मिडियाका नाममा स्वतन्त्रताको दुरुपयोग गर्नुनहुने बताए । गठबन्धन सरकार पाँच वर्ष पूरा समय चल्ने र सरकार ढल्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।