Logo

एमाले र राजावादीहरु आमने–सामने, प्रधानमन्त्री प्रचण्ड अझै ‘पर्ख र हेर’मा



काठमाडौं, ३ मंसिर । कुनैवेला आँफैले पार्टीको केन्द्रीय सदस्य नियुक्त गरेका दुर्गा प्रसाईं अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि टाउको दुखाई बनेका छन् । पार्टीको १०औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न चाहेका प्रसाईं पार्टीको नेतृत्व पँक्तिबाट नै विरोध भएपछि उनी सफल भएनन् ।

तर, महाधिवेशन सम्पन्न भएको महिना दिन बित्न नपाउँदै अध्यक्ष ओलीले प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । एमालेको केन्द्रीय सदस्य बनेका प्रसाईंले अध्यक्ष ओलीको गुणगान निकै गाए । ओलीलाई सम्बोधन गर्दा प्रायः हजुरबुवा भन्ने प्रसाईं एकपछि अर्को गरेर अराजक बन्दै गएपछि एमालेले उनलाई पार्टीको केन्द्रीय सदस्यबाट ०७९ फागुन १३ गते निश्काषन गरेको थियो ।

एमालेबाट निश्काषनमा परेपछि प्रसाईं झनै उग्र बनेका थिए । पछिल्लो समय उनले ओलीले तीन हजार करोड (तीस अर्ब) पैसा कम्बोडियाको टेलिकममा लगानी गरेको सनसनीपूर्ण आरोप लगाएका थिए । नेपालका मारवाडीले देशको अर्थतन्त्र तहसनहस बनाएको भन्दै केही व्यवसायीहरुको फोटो सार्वजनिक गर्ने कार्यक्रममा युवा संघले प्रसाईंलाई मोसो दलेको थियो ।

काठमाडौंमा दिउँसै युवा संघले आफूलाई मोसो दलेपछि प्रसाईंले एमालेको झापामा हुने सबैखाले कार्यक्रम विथोल्ने चुनौति दिएका थिए । तर, एक साता नबित्दै युवा संघले झापाको अर्जुधारामा महेश बस्नेतको प्रमुख आतिथ्यतमा भव्य कार्यक्रम सम्पन्न गर्यो । प्रसाईंका समर्थकहरुले युवा संघका नेता तथा कार्यकर्ताहरुले कार्यक्रमस्थलभन्दा निकै पर पार्क गरेर राखेका केही गाडी भने ढुंगामुढा गरेर फुटाएका थिए । यो बीचमा प्रसाईं र महेश बस्नेतले एक अर्कालाई चूनौति दिने अभिव्यक्ति दिँदै आएका थिए ।

तर, प्रसाईंले मंसिर ७ गते काठमाडौंमा एक लाख मान्छे उतार्ने र अहिलेको व्यवस्था समाप्त पार्ने घोषणा गरेपछि एमालेले पनि त्यही दिन काठमाडौंमा कार्यक्रम गर्ने घोषणा गरेको छ । सुरुमा युवा संघले गर्ने भनिएको कार्यक्रममा हिजो (मंसिर २ गते) एमालेको जनवर्गीय संगठनको कार्यक्रममार्फत मंसिर ७ गते हुने कार्यक्रमलाई पार्टीको आधिकारिक कार्यक्रमको रुपमा अपनत्व लिने घोषणा गरेको छ ।

एमाले अध्यक्ष ओलीले व्यवस्थाको विरुद्धमा लाग्नेहरुलाई एमालेले नछोड्ने चेतावनी दिएका छन् । उनले व्यवस्था जोगाउनको लागि एमाले जस्तोसुकै कदम पनि चाल्न बाध्य हुने चूनौति दिएका छन् । अहिले व्यवस्था फाल्ने उद्घोषसहित प्रसाईं देश दौडाहमा छन् । यता, एमाले भने प्रसाईंको कार्यक्रम असफल पार्नेगरि लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि अहिले व्यवस्थामाथि धावा बोलिएको भन्दै विरोध त गरिरहेका छन् । तर, उनले पार्टी पँक्तिलाई व्यवस्था बदल्नेविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन भने दिएका छैनन् । बरु, यही बीचमा उनले युएईमा हुने कोप–२८ मा जाने तयारी गरेका छन् । उनी यतिवेला एमाले र प्रसाईंको आमनेसामनेको अवस्थालाई नजिकबाट नियाँलेर बसेका छन् ।

प्रसाईंको आन्दोलनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको भनेर व्यापक हल्ला चलेको छ । राजावादीहरुले भने मंसिर ७ गतेको काठमाडौंमा हुने कार्यक्रमलाई सफल पार्न सबै एकजुट हुनुपर्ने आवाज उठाएका छन् । पूर्वराजा ज्ञानेन्द्र भने मंसिर १० गते हुने कार्यक्रममा सहभागी हुने मंसिर ७ गते नै झापा जाने चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot