काठमाडौं,३ मंसिर । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको जन्ममिति सम्बन्धी कागजात माग गरेको छ ।
उनको जन्ममितिको सम्बन्धमा उजुरी परेपछि थप छानविन गरी टुंग्याउनका लागि मन्त्रालयसँग कागजात माग गरेको समितिले जनाएको छ ।
ज्ञवालीले जन्ममिति फरक पारेर प्रहरी सेवामा प्रवेश गरेको आरोपसहित उजुरी परेको थियो। ज्ञवालीको जन्ममिति विवादबारे सर्वोच्च अदालतमा पनि रिट परेको थियो। उक्त रिट सर्वोच्चले दरपीठ गरिदिएको थियो।
तर,कतिपयले भने समिति सभापति रामहरि खतिवडाले ज्ञवालीसँग प्रतिशोध साँध्न जन्ममिति विवाद बल्झाईएको आरोप लगाएका छन् । ज्ञवाली ती नै प्रहरी अधिकृत हुन् । जसले एसएसपी दानबदाहुर कार्की र डा. मनोज केसीसँग मिलेर नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरेका थिए ।
हाल उक्त प्रकरणका आरोपीतहरु पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका छन् । यसरी कारागारमा रहनेहरुमा पूर्व गृहमन्त्रीदेखि बहालवाला सांसदसमेत रहेका छन् ।