काठमाडौं,३ मंसिर । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको विनासकारी जाजरकोट भूक्मपबाट प्रभावित बनेकाहरुको उद्धार र राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्रीको नेतृत्वमा स्थापीत प्रधानमन्त्री दैवी प्रकोपा कोषमा हालसम्म १५ करोड भन्दा धेरै रकम जम्मा भएको छ ।
कार्तिक १७ गते गएको भुकम्पका पीडितको सहयोगार्थ स्थापना गरिएको कोषमा मंसिर १ गतेसम्ममा १५ करोड २८ लाख २९ हजार ३ सय ५ रुपैंया जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाप्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।
उक्त कोषमा एक करोडभन्दा माथि सहायता गर्नेमा मिनबहादुर गुरुङ (१ करोड ११ लाख ११ हजार), बुद्ध एयर (१ करोड), राष्ट्रिय वाणिज्य बैंक (१ करोड), ग्लोबल आईएमई बैंक (१ करोड), सूर्य नेपाल प्रालि (१ करोड), गोर्खा ब्रुअरी (१ करोड), क्यान सेन्ट्रल पेमेन्ट (१ करोड) रहेको छ ।
कृषि विकास बैंकसहित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ५० लाख रुपैयाँ जम्मा गरेका छन् ।