Logo

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट न्यायाधीश कुमार चुडालको एकल इजलासमा



काठमाडौं,४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्धक सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ । कार्तिक २७ गते सरकारले टिकटक बन्द गराउने निर्णय गरेपछि परेको छुट्टाछुट्टै १० वटा रिट निवेदन सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ ।

टिकटकका कारण सामाजिक सदभाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै २७ कात्तिकमा सरकारले नेपालमा ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

सरकारको निर्णयविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल सहितका १० जनाले रिट निवेदन दायर गरेका छन् । रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ ।

सरकारले सामाजिक सद्भावमा खलल पुगेको, सार्वजनिक शिष्टाचारविरुद्धका कसुर धेरै भएको, टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्यूनीकरण र दोषीमाथिको कारबाही प्रक्रियामा सहयोग नगरेको कारण देखाउँदै बन्द गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्