Logo

विश्वकपको उपाधिमा ‘ह्याट्रिक’ गर्ने भारतको सपनामा तुषारापात ल्याउने ट्राभिस हेड को हुन् ?



  • कमल बुढाथोकी

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट औपचारिक रुपमा समापन भएको छ । आइतबार भारतको अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई हराउँदै उपाधिमाथी कब्जा जमाएपछि तेस्रो पटक विश्वकप जित्ने भारतको सपना एकपटक ध्वस्त भएको छ ।

आइतबार भएको फाइनल खेलमा भारत अस्ट्रेलियासँग ६ विकेटको फराकिलो अन्तरले पराजित भयो । टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर भारतले २४० रन जोड्न सक्यो । उसका लागि केएल राहुलले सर्वाधिक ६६ र विराट कोहलीले ५४ तथा कप्तान रोहित शर्माले ४७ रन जोड्नबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सकेका थिए।

विराट कोहलीले ५४ रनको योगादन गरे। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।

भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराएका थिए ।

भारतलाई सस्तैमा रोक्नेक्रममा बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र‍ पाट कमिन्सले २-२ विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले १-१ विकेट लिन सफल भए।

२४१ रनको मध्यम लक्ष्य पछ्याएको विश्वविजेता अस्ट्रेलियाले खेल सकिन ४२ बल बाँकी रहेकै अवस्थामा मात्र ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अस्ट्रेलियालाई कीर्तिमानी जित दिलाउनेक्रममा नायक सावित भएका ट्राभिस हेडले शानदार प्रदर्शन गरे ।

ओपनरको रुपमा मैदान छिरेका हेडले ४३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट पारी सम्हालेका थिए । उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो। लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए।

तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए। हेडले १३७ रनको योगदान गरे। उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे। उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे। लबुसेनले नटआउट ५८ रन जोडे।

यो जितसँगै अस्ट्रेलियाले कीर्तिमानी छैठौं पटक विश्वकपको उपाधि उचालेको छ । उसले यसअघि सनु १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरेर ५ पटक उपाधि हात पारेको थियो । सन् २०२३ को उपाधि कब्जा गरेसँगै अस्ट्रेलियाले पुनः एकपटक विश्व क्रिकेटमा सनसनी मच्चाउन सफल भएको छ ।

विश्वकप क्रिकेटको १३औं संस्करणसम्म आईपूग्दा हालसम्म अस्ट्रेलिया बाहेक कुनैपनि टिमले दुई पटकभन्दा बढी उपाधि उचाल्न सकेका छैनन् ।

यसअघि दुई पटक उपाधि जितेर विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने भारतको सपनामा यसपटक अस्ट्रेलियाका हेड बाध बने ।

भारतको सपनामा तुषारापात ल्याउने ट्राभिस हेड को हुन् ?

नरेन्द्र मोदी स्टेडियममा उपस्थित भएका १ लाख ३० हजार भन्दा धेरै प्रत्यक्ष दर्शक र करोडौं भारतीय क्रिकेट प्रेमीहरु यसपटक भारतले विश्वकपको उपाधि जित्नेमा विश्वस्त देखिन्थे । यो यस्तो विश्वकप थियो । जहाँ घरेलु दर्शकको साथ अनि समूहचरणमा खेलेको कुनैपनि खेलमा पराजय नभोगेरै भारतले विश्वकपको फाइनलमा स्थान बनाएको थियो । त्यसको ठिक विपरित समूह चरणका सुरुवातका दुई खेल हारेको अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका कुनैपनि खेल नहारेरै विश्वकपको ट्रफि उचाल्यो ।

अस्ट्रेलियालाई कीर्तिमान उपाधि र भारतलाई स्तब्ध बनाउने ट्राभिस हेड ओपनर ब्याटस्म्यान हुन् । २९ वर्षिय अस्ट्रेलियन बाँयाहाते ब्याटर हेडले हालसम्म टेस्टमा ४२, ओडीआईमा ६४ र टी-२० मा २० वटा म्याच खेलका छन् । उनले ओडीआईतर्फ २ हजार ३ सय ९३ रन बनाईसकेका छन् । उनले बनाएको सबैभन्दा उच्च स्कोर १५२ रन हो । त्यस्तै टेस्टतर्फ २ हजार ९ सय ४ रन जोडिसकेका उनले १७५ रनसम्म बनाएको रेकर्ड रहेको छ । भने टी-२० तर्फ ४६० रन बनाएका उनले ९१ रनको उच्च स्कोर बनाएका छन् ।

आइतबार समापन भएको १३औं संस्करणको विश्वकपमा उनले २ शतक र एक अर्धशतक प्रहार गरेका छन् । उनले भारतविरुद्ध फाइनलमा बनाएको १३७ रनका अलवा न्यूजिल्याण्डविरुद्ध १०९ रनको शतकीय पारी खेलेका थिए । भने दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा ६२ रन जोडेका थिए । उनले समग्रमा यो विश्वकपमा ३८४ रन जोडेका छन् ।

यसअघि उनले २०२१-२२ मा घरेलु एशेज शृंखलामा ब्रेकआउट गरेका थिए । जहाँ उनी दुई शतक सहित ३५७ रन बनाउादै प्लेयर अफ द सिरिज घोषित भए।

अस्ट्रेलियाले भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिप बन्न पनि उनको महत्वपूर्ण भूमिका थियो। उनको १६३ रन र स्टिभ स्मिथको १२१ रनको मद्दतमाअस्ट्रेलियालाई २०९ रनको विशाल जित दिलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot