काठमाडौं,४ मंसिर । सरकारले कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले ५ जिल्लामा पहिलो किस्ताको रुपमा एकमुष्ट १ अर्ब ४१ करोड रकम निकासा गरेको हो । जसमा जाजरकोट र रुकुम पश्चिमका लागि समान ५० ५० करोड, बझाङका लागि २५ करोड बाजुरालाई १४ करोड र सल्यानका लागि २ करोड रकम निकासा गरेको हो ।
यसअघि सरकारले भूकम्पबाट प्रभावित नागरिकलाई अस्थायी आवासका लागि तत्काल दुई किस्ता गरेर ५० हजार उपलब्ध गराउने निर्णय गरेको थियो ।
उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत गरिसकिएको छ । भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ । दोस्रो किस्ताको रुपमा २५ हजार भने आवास निर्माण सम्पन्न भएपछि उपलब्ध गराईनेछ ।