काठमाडौं,४ मंसिर । गत कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सत्तारुढ दल नेपाली कांग्रेसले खटाएको स्वयंसेवक टोली जाजरकोट प्रस्थान गरेको छ ।
सोमबार बिहान धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले युवा नेता तथा सांसद प्रदीप पौडेलको नेतृत्वमा दक्ष स्वयंसेवक पठाउने निर्णय गरेको थियो । उक्त बैठकको निर्णयअनुसार आजै पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो ।
जाजरकोटको नलगाड नरगपालिमा मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने छ । नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको कांग्रेसले जनाएको छ । जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुने छन् । पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाए करिब एक सातापछि काठमाडौँ फर्किने छ ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन्। पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।