काठमाडौं,४ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालाई लिएर देखिएको विवादका बारेमा नेपाल समाजवादी पार्टीका दुई अध्यक्ष छलफलमा जुट्ने भएका छन् ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र अर्का अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्रराय यादवबीच आज निर्णायक छलफल हुने बताएइको छ । पछिल्लो समय नेसपाभित्र माओवादीसँग पार्टी एकता गर्ने नगर्नेबारे अन्यौलता बढ्दै गएको छ ।
आम निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर भाग लिने र चुनावपछि दुई पार्टीबीच एकता गर्ने भट्टराई र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । तर, चुनावपछि प्रचण्डसँग पार्टी एकता गर्न भट्टराईले चासो देखाएका छैनन् ।
भट्टराईले चासो नदेखाएपनि अर्का अध्यक्ष यादवसँगै सहअध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठसहितका बहुमत पदाधिकारीहरु माओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
नेसपामा एकताबारे विवाव बढ्दै जाँदा गत भदौंमा माओवादी केन्द्रले कार्यकारी अध्यक्ष बाबुराम भट्टराईलाई पन्छाउँदै अर्का अध्यक्ष महिन्द्रराय यादवलाई पत्र पठाएको थियो । माओवादीको उक्त पत्रपछि बिच्किएका बाबुरामले पार्टी एकताको सोच त्यागीसकेको उनी निकट स्रोतले बताएको छ ।
उता जसरी भएपनि माओवादीमा पार्टी मिसाउने अडानमा रहेका यादव र सह-अध्यक्ष श्रेष्ठसहितका बहुमत नेताहरुले भने आज साँझ दुई नेताबीच निर्णायक वार्ता हुने र सहमति नभए भोलिनै हस्ताक्षर संकलन गर्ने तयारी गरेका छन् ।
२०७२ असोज ३ मा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै माओवादी केन्द्र त्यागेका बाबुरामले त्यसपछि नयाँ शक्ति हुँदै जसपासँग पार्टी एकता गरेका थिए । तर, जसपासँग पनि लामो समय सँगै रहन नसकेका भट्टराईले २०७८ मा पार्टी फुटाउँदै नेसपा गठन गरेका थिए ।