काठमाडौं, ५ मंसिर । नेपाल पर्यटन बोर्ड, नेपालस्थित् चिनियाँ दूतावास र पोखरा महानगरपालिको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएशन र होटल एशोसिएशन पोखरा सहआयोजना यही मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता (अन्तर्राष्ट्रिय माउण्टेन क्रस–कन्ट्री रेस) आयोजना हुन लागेको हो ।
नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजन ागरिने प्रतियोगितामा नेपाली १० टिम र नेपाली चीनका १० टिम सहभागी हुने जनाईएको छ । एउटा टिममा तीन जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिता नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडठान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा जाने जनाईएको छ । उनीहरु दौड प्रतियोगितामा भाग लिनको लागि चिनियाँ खेलाडी चीन सरकारकै सहयोगमा चार्टर उडानमार्फत पोखरा जाने बताईएको छ ।
प्रतियोगितामा धावकहरुले दौड, साईकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाट आएर अन्त्य हुनेछ । नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिष्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगितामा ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता राखिएको छ ।
नेपाल र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रो हुने २ लाख ८८ हजार रुपैयाँ, तेस्रो हुनेले २ लाख १६ हजार रुपैयाँ र चौथो टिमले एक लाख ४४ हजार रुपैयाँ पाउने छन् । यस्तै, पाँचौ हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउने जनाईएको छ । व्यक्तिगत स्पर्धामा प्रथमले एक लाख ४४ हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।