Logo

सन्दीप लामिछानेको कप्तानीमा केपी ओली कपका लागि बागमतीको टिम घोषणा



काठमाडौं,५ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट स्थापीत केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० का लागि बागमती प्रदेशले आफ्नो टिम घोषणा गरेको छ ।

बागमतीले मंगलबार राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पीनर सन्दीप लामिछानेको कप्तानीमा टोली सार्वजनिक गरेको हो ।

बागमती क्रिकेट संघले मंगलबार सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको हो । टिममा नेपाली राष्ट्रिय टोलीका सन्दीपसँगै प्रतिश जिसी पनि समावेश छन् ।

नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे पनि टोलीमा छन् ।नेपालको टोलीमा परि सकेका युवा स्पिनर सुर्य तामाङ भने टोलीमै अट्न सकेनन् ।

मंसिर ८ गतेदेखि सुरु हुने प्रतियोगितामा कुल १२ टिम सहभागी हुनेछन् । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेशसँगै, कर्णाली प्रदेश, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो छन् ।

समूह ‘बी’मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । यस्तै, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘डी’मा त्रिभुवन आर्मी क्लब, कोसी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो छन् ।

बागमतीको टिम सन्दीप लामिछाने (कप्तान), सुभ कंशाकार, आशुतोष घिरैया, रित गौतम, गौरव खड्का, रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुवास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी, दीपेश श्रेष्ठ ।



प्रतिक्रिया दिनुहोस्