काठमाडौं, ५ मंसिर । दलितका लागि दलित आन्दोलनका प्रमुख संयोजक खगेन्द्र सुनारले सरकारले टिकटकमा भन्दापनि जाजरकोटका भूकम्प प्रभावितलाई ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जाजरकोट भूकम्पले हल्लिँदा काठमाडौंलाई पनि दुःख लाग्नुपर्ने उनको भनाई छ ।
जाजरकोटमा भूकम्प गएदेखि उद्धार, व्यवस्थापन, राहत र पुनर्निर्माणलगायतका काममा आफूहरु निरन्तर लागिरहेको उनले बताए । उनले सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेर नागरिकहरुको वाक स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको बताए । उनले सरकारले निरंकुशताको बाटो रोजेको टिप्पणी गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा कम्युनिष्टहरुको सरकारमा रुन पनि पाइँदैन भनेर दिएको अभिव्यक्तिलाई स्मरण गराउँदै उनले कांग्रेस सरकारमा आएको बेला हाँस्न पनि नपाएको बताए । सरकारको हिँडाइको गति राम्रो नभएको उनको दाबी छ ।
‘यो व्यवस्थामा गरिबका र दलितका कुरा बाहिर आउने कुरालाई सरकारले सहन नसकेर अहिले प्रतिबन्ध लगायो । आज टिकटकमा प्रतिबन्ध लाग्यो, भोलि युट्यूवमा प्रतिबन्ध लाग्ला, पर्सी फेसबुक बन्द होला, त्यसपछि हाम्रो मुख बन्द होला,’– उनले भने ।
भूकम्पपछि चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा १२ जना भन्दा बढि मानिसहरुको ज्यान गइसकेको बताउँदै उनले सरकारको पूरै ध्यान त्यसतर्फ केन्द्रीत हुनुपर्ने आवस्यकत्ता औंल्याए ।
कार्यक्रमका वक्ता एवं अभियन्ता बब्लु गुप्ताले विकास र प्रविधिसँग नजिक हुन आवश्यक रहेको औंल्याएका छन् । सरकारले नागरिकलाई प्रविधिको पहुँचबाट टाढा राख्न खोजेको उनको आरोप छ । आज टिकटक बन्द गर्ने सरकारले भोलि फेसबुकलगायतका समाजिक सञ्जालमा प्रतिबन्ध नलगाउला भन्न नसकिने उनले बताए ।
अर्का वक्ता आशिष डाँगीले टिकटक बन्द गर्नु लगत भएको बताए । टिकटक बन्द गरेर सरकारले धेरै मानिसहरुको रोजिरोटी खोसेको उनको भनाई छ ।
जाजरकोटका भूकम्प प्रभावितहरुको व्यवस्थापन र पुनर्निर्मामा आफूहरु निरन्तर लागिरहेको बताउँदै उनीहरुले उक्त कार्यमा जोडिएर जाजरकोटवासीको पीडामा मल्हम लागाउन सबैसमक्ष आग्रह गरे ।
कार्यक्रममा अर्का वक्ता मनोज केसीले टिकटक बन्द गरेर गल्ती गरेको टिप्पणी गरे । उनले टिकटकमा विकृति फैलिएको हो भनेपनि त्यसलाई अनुगमन र नियन्त्रण गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने थियो भन्ने धारणा राखे । उनले टिकटकबाट धेरैले रोजगारी पाएको र व्यवसायमा पनि टिकटकले राम्रो योगदान गरेको बताए ।
उनले यो देशमा चुरोट र मदिरा सबै बन्द गर्नुपर्ने सुझाव दिए । उनले प्रश्न गरे–‘रक्सी राम्रो कुरा हो र ? रक्सीले भन्दा टिकटकले यो देशमा नराम्रो विकृति ल्याएको हो र ?’ उनले टिकटकबाट सरकारका सबैखाले विकृति छताछुल्ल भएकोले अहिले यो प्लेटफम चूनौति भएको जिकिर गरे । उनले ठूला दलको लागि टाउको दुखाई सामाजिक सञ्जाल भएको दाबी गरे ।