Logo

युवा जनशक्तिमात्र नभएर देशको ढुकुटी पनि बाहिरिँदैछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र नभएर देशको ढुकुटी पनि बाहिरिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) काठमाडौंमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘विद्यार्थी पलायनबाट देशको युवा जनशक्तिमात्र बाहिरिइरहेको छैन, देशको ढुकुटी पनि उनीहरुसँगै बाहिरिँदै गएको छ। त्यसैले पनि छिटोभन्दा छिटो यस पलायनलाई रोक्नका लागि शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने मात्र नभई विदेशी विद्यार्थीलाई नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकियो भने अहिले जस्तो देशको पैसा बाहिरिने नभई विदेशी मुद्रा नेपाल भित्रिने अवस्थाको सिर्जना हुनेछ। यो कुरा आजको भोलि नै पूरा गर्न सम्भव छैन। तर, दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर यस दिशामा ठोस परिणाम हासिल हुन सम्भव हुनेछ।’

प्रधानमन्त्री दाहालले देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ भन्ने सवाल आजको महत्वपूर्ण सरोकारको विषय भएको उल्लेख गरे । उनले थपे,‘उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेसिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ। यसै यथार्थलाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको विषय यहाँहरुलाई अवगत नै छ।’

उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन भएको उल्लेख गरे । उनले भने,‘विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरु खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरी यस पलायनलार्ई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती हो। यस विषयमा सम्पूर्ण बौद्धिक समुदायले गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्ने मेरो विश्वास छ।’



प्रतिक्रिया दिनुहोस्