काठमाडौं,५ मंसिर । ललितपुरको पुल्चोक आसपासको क्षेत्रमा आगामी ६ महिनासम्माका लागि निषेधाज्ञा जारी भएको छ ।
मंगलबार बाट लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा जारी गरेका हुन् ।
आदेशमा भनिएको छ,’स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ .’
आदेशमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन.हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यसअघि काठमाडौं प्रशासनले सोमबार माईघर मण्डलादेखि बानेश्वरसम्म ३० दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । मंसिर ७ गते हुने दुर्गा प्रसाईं समूह र युवा संघको आन्दोलनलाई ध्यानमा राखेर सरकारले संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।