Logo

बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार भएका ढोरपाटनका मेयरले भने- घरजग्गा बेचेर फिर्ता गर्छु



काठमाडौं,५ मंसिर । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको डेढ अर्ब रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार भएका थिए।

फरार भएको ६ महिनापछि उनी सामाजिक सञ्जालमा लाइभ बसेर सार्वजनिक भएका हुन् । उनले आफ्नो सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् । उनले त्यसका लागि उपयुक्त वातावरण बनाई दिन आग्रहसमेत गरेका छन् ।

‘संस्था का सेयर सदस्य बचत कर्ता साथीहरुलाई मैले सहकारी समस्याको समाधान तथा हिसाब मिलाउन को लागी मेरो सम्पति बेचेर भएपनि छ महीनाको समयमा हिसाब मिलान गर्ने समय मागेको थिए । यो बिषय मा सबै लाई अबगत छ । तर, छ महीना मा हिसाब मिलान हुन सकेन किन हिसाब मिलान हुन सकेन ? भन्ने बिषय मा जानकारी गराऊन चाहान्छु की केही साथी हरु छ महीना सम्म बचत फिर्ता लिन पर्खन सक्नु भएन ’। उनले भनेका छन्

‘घरमा आई डर धम्की समेत गर्नु भयो । त्यस कारण घर मा बस्ने वातवरण भएन अर्को कुरा केही साथी हरूको अगुवाईमा मुद्दा दर्ता गर्ने काम पनि भयो त्यस कारण म बाहिर निस्केर काम गर्ने अबस्था भएन त्यसैले छ महीना भित्र हाम्रो सम्पति घरजग्गा हरु बिक्री बितरण गर्न वातवरण नभएको सबै लाई जानकारी गराउदछु । मेरो र श्रीमतीको नाम मा भएको बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाण्डौ मा रहेका ४५ कित्ताहरु मध्य बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाण्डौ मा ६ वटा घर गरी जम्मा १८ वटा घर र ४४ वटा कित्ताहरु मा जग्गा भएको सम्पति मध्य घर हरूको फोटोहरु समेत सार्बजनिक गरेको छु। तर यी सम्पति हरु इमेजको पैसा ले जोडेको हो भन्ने नसोच्नु होला । हामी आफैले कमाएको सम्पति हो तर यो सम्पति करीब ३ अर्ब भन्दा बदीको सम्पती हो। भन्ने कुरा सबै लाई जानकारी गराऊन चाहान्छु । तर सहकारी को समस्या बचत कर्ता हरुको समस्या समाधान को लागी सम्पूर्ण बचत कर्ता हरुको नाम मा मेरो र मेरो श्रीमती को नाम मा भएको घर जग्गा बिभिन्न मालपोत कार्यालय मा गई हस्तान्तरण गर्न को लागी चाहान्छु । हस्तान्तरण गर्नको लागी वातवरण मिलाई दिन कानून निकाय, राजनिती दल, नागरिक समाज पत्रकार र बिभिन्न सरोकार वाला ज्यू हरूलाई अनुरोध गर्दछु’। उनले भनेका छन् ।

नगर प्रमुख नेपालीले मतदाताको अमूल्य भोट को कदर गर्दै नागरिकको सेवाको लागी छिटै आउनेसमेत दाबी गरेका छन् ।

नेकपा एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

नेपाली संलग्न इमेज सहकारीविरुद्ध पीडितहरू ६ महिनादेखि सडकमा संघर्षरत छन् । बागलुङमा मात्रै झन्डै एक हजार ५०० बढी उक्त सहकारीबाट पीडित छन् ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले पैसा हिनामिना पारेको बाहिरिएपछि बन्द भएको हो ।

उनी सम्पर्कविहीन हुँदा एक हजार ५५० भन्दा धेरै व्यक्तिको एक अर्ब ६० करोडभन्दा धेरै रकम अलपत्र परेको तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस्