Logo

राजा फर्केको मात्र होइन, आफै राजा भएको सपना पनि देख्न सकिन्छ : एमाले नेता



काठमाडौं, ६ मंसिर । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ११ महिनासम्म शासक भएँ भनेर फूर्ति लगाइरहेको आरोप लगाएका छन् ।
‘प्रधानमन्त्रीलाई जनताको सेवा गरें भन्ने छैन, ११ महिनासम्म शासक भएँ भनेर जिब्रो पड्काइरहेका छन् । जम्मा दुई जिल्लामा भूकम्प गएको अहिलेसम्म अस्थायी आवासको सुरसार छैन । प्रधानमन्त्री र राष्ट्रपति हेलिकप्टरमा धुलो उडाएर आए । शान्तिप्रक्रियाको १७ वर्षसम्म लुटको धन फुपूको श्राद्ध भइरहेको छन् । जनताको चहराइरहेको घाउमा मलम लगाउनेभन्दा चुक अमिलो छर्कने काम भइरहेको छ । हत्या हिंसा सुरु गरेको दिनलाई जनयुद्ध दिवस मनाइरहेका छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
दुर्गा प्रसाईले आफ्नो पार्टीसँग नाम जोडेर चर्चित हुन खोजेको आरोप पनि अधिकारीले लगाए । उनले थपे, ‘कसैले एमालेसँग नाम जोडेर म चर्चित हुन्छु कि भनेर सोच्नु मृगमरीचिका हो । अर्बौं रुपियाँ ऋण खाएर बैंक टाट पल्टाउने व्यक्तिले जे पनि बोल्या छ, मुख छाड्या छ । पुष्पक विमान चढेको, राजा फर्केको अनि आफै राजा भएको सपना देख्न सकिन्छ । राजा त घरपिच्छे छन् नि । घरमा श्रीमतीले पनि मेरो राजा भनेर फकाउने चलन छ नि । बजारु कुरामा धेरै नअलमलिऊँ । समयको बरबादी हो ।’
पार्टीको एउटा जनसंगठनले आन्दोलन गर्दा त पुराना भूत, प्रेत, काँचा वायु त छटपिटए भने सिंगै पार्टी लाग्या के हुन्छ भनी अधिकारीले प्रश्न पनि गरे । उनले भने, ‘सरकारले जनतालाई डेलिभिरी र स्थायित्व दिन नसक्दा जनतामा अनेक आशंका जन्मन्छन् । गणतन्त्र र संघीयता अपरिवर्तनीय कुरा हुन् भनेर जनतामा व्यापक निराशा आउन नदिन एमालेका २३ वटा जनसंगठनमध्ये युवा विद्यार्थीले सामुदायिक हितका लागि विशेष कार्यक्रम गर्न लागेका छन् । पार्टीको एउटा जनसंगठनले आन्दोलन गर्दा त पुराना भूत, प्रेत, काँचा वायु त छटपटाइरहेका छन् भने सिंगै पार्टी लागे के होला ?’
न्यायाधीश नियुक्तिमा वास्तविकताभन्दा बढी बुझेर दलीय भागबन्डाको आरोप लगाइएको पनि उनले बताए । अधिकारीले भने, ‘हामीकहाँ कहिलेकाहीं वास्तविकताभन्दा बढी बुझ्ने चलन छ । अहिले भागबन्डा भएको छ भन्दा पनि भोलि कस्तो काम हुन्छ त्यो हेर्नुपर्छ । मुख्य कुरा अदालत निष्पक्ष छ भन्ने अनुभूति हुनुपर्छ । नियुक्ति प्रक्रिया र योग्यता जाँचमा पुनरावलोकन गर्न सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्