Logo

दुई हजार घर भत्किँदा पनि केही नभएको जस्तो गरियो : गाउँपालिका अध्यक्ष



काठमाडौं, ६ मंसिर । सल्यानको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले जाजरकोट भूकम्पबाट प्रभावित आफ्नो पालिकालाई बेवास्ता गरिएको बताएका छन् ।
‘जाजरकोट भूकम्पपछि धेरैको ध्यान मानवीय क्षति र केन्द्रविन्दुतिर गयो । हाम्रो गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिक रुपमा केन्द्रविन्दुजति नै क्षति भएको छ । दुई हजार घर भत्किँदा पनि केही पनि नभएको जस्तो भयो । त्यसको कुनै प्रचार प्रसार हुन सकेन । क्षतिको पैमानामा संघीय सरकार, दाता र मिडियाको ध्यान पुगेन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
अध्यक्ष केसीका अनुसार दार्मा गाउँपालिकाका ६ वडामध्ये चार वटा वडामा १,१७९ घरमा पूर्ण क्षति र १,०८१ घरमा आंशिक क्षति भएको छ । पीडित परिवारले प्रारम्भिक राहत पाएका छन् । ‘ सबै घर गर्ल्यामगुर्लुम नढले पनि दुई हजार घर, विद्यालय, वडा, स्वास्थ्य संस्थामा बस्न मिल्ने खालका छैनन् । भूकम्पले अनाज पुरिएपछि समस्या हुने भइहाल्यो । पीडित परिवार चिसो र झरीमा त्रिपालमुनि बसिरहेका छन् । सरकारले रकम निकासा गरेपछि नागरिक, सरकार र पालिकाको लगानीमा अस्थायी आवास बनाउन थाल्छौं,’ केसीले भने ।
अहिलेसम्म पालिकाले बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिएर राहत उपलब्ध गराएको उनले बताए । केसीले भने, ‘अहिलेसम्मको स्रोत अपुग छ । त्रिपाल, कम्बल र न्यानो कपडा सबैलाई पुर् याउन सकेका छैनौं । यसमा संघीय सरकार, दाताहरु र मिडियाको ध्यानाकर्षण गराएका छौं ।’



प्रतिक्रिया दिनुहोस्