काभ्रेपलाञ्चोक, ६ मङ्सिर । सात हजार व्यक्तिलाई खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको समयमा पनि सम्पन्न हुन सकेको छैन ।
समयमै निर्माण सम्पन्न हुने अवस्था छैन । निर्माण व्यवसायी कम्पनीले तीन वर्षदेखि काममा आलटाल गरेका कारण आयोजना अधुरै छ ।
आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै पाँच हजार तीन सय परिवारले प्रतिपरिवार १८ हजारका दरले रकम बुझाइसकेका छन् । विविध कारण आयोजनाको समायावधि १० महिना थपिए पनि गत कात्तिक १५ गतेभित्र नगरका सात हजार नागरिकका घरमा खानेपानी पुर्याउने लक्ष्य लिइएको थियो ।
परियोजनाको काम २०७९ पुसभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले सामग्री अभावले समयमै काम सम्पन्न गर्न नसक्ने जनाएपछि १० महिना समयावधि थपिएको थियो ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नुपर्ने उल्लेख गरेको थियो । आयोजनाका लागि सम्झौताअनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । उनले भने, “निर्माण कम्पनीले लापरवाही ग¥यो, ऋण गरेर खानेपानीका लागि पैसा दिने उपभोक्तालाई जवाफ दिन नसकिने भयो ।”
खानेपानी आयोजनासँग सम्झौता गरेको निर्माण कम्पनी हुवाइ कन्काई जेभीका परियोजना व्यवस्थापक इन्द्रमानसिं बस्नेतले परियोजना सञ्चालकले आवश्यक सामग्री नल्याउँदा र सम्झौताअनुसार जनशक्तिलाई परिचालन गर्न नसक्दा काममा ढिलाइ भएको बताए ।
नगरको १३ मध्ये १० वडाका लागि खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाखमा उक्त निर्माण कम्पनीसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका हुन् ।
पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । योजना लागू भएको क्षेत्रमा छ हजार ३७ धारा जडान हुने भएपछि दुई हजार तीन सय परिवारका लागि मात्रै धारा जडान भएको उपभोक्ता समितिले जनाएको छ । रासस