Logo

विद्यालय, कार्यालय र व्यवसाय बन्द गर्न भनेका छैनौं : काठमाडौं एसएसपी



काठमाडौं, ७ मंसिर । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाई र महेश बस्नेतको राष्ट्रिय युवा संघको काठमाडौं केन्द्रित विरोध कार्यक्रमका लागि एकीकृत सुरक्षा योजना बनाएको बताएका छन् ।
‘सामाजिक सञ्जालमा विभिन्न अफवाह र संशय आएपछि जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिले दुवै समूहलाई बोलाएर विरोध कार्यक्रमको स्थान तोकेको छ । हामीले विभिन्न स्रोतबाट प्राप्त सूचनाको विश्लेषण गरी जोखिम न्यूनीकरणका लागि १०० भन्दा बढी ठाउँमा चेकिङको व्यवस्था गरेका छौं । दुवै समूहको कार्यक्रम हुने स्थानमा मजबुत सुरक्षा प्रबन्ध छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
दुवै समूहले मुठभेड, झडप, विवाद वा द्वन्द्व गरेमा प्रहरी ऐन २०१२ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार नियन्त्रणमा लिने पनि एसएसपी खत्रीले बताए । उनले दुवै कार्यक्रम सुरक्षित र व्यवस्थित गर्न सुरक्षा निकाय लागेकाले निर्धक्क भएर आआफ्ना पेसा र व्यवसायमा लाग्न पनि नागरिकहरुलाई आग्रह गरे । खत्रीले थपे, ‘दुई पक्षको विरोध कार्यक्रमका कारण सवारी आगमनमा अवरोध हुने भएकाले कुनै कुनै स्थानमा जाम हुने सम्भावना छ । तर हामी जनजीवनलाई सामान्य बनाउन प्रतिबद्ध छौं । हामीले निश्चिन्त भएर दैनिककार्य सञ्चालन गर्न भनेका छौं । कुनै पनि विद्यालय, कार्यालय र व्यवसाय बन्द गर्न भनेका छैनौं ।
दुर्गा प्रसाई र महेश बस्नेत दुवैको निवास भक्तपुर भएकाले जुलुस निस्कँदा झडप हुने सम्भावना छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा एसएसपी खत्रीले भने, ‘महेश बस्नेत र दुर्गा प्रसाईको बासस्थान एकै स्थानमा भएकाले संशय हुनु स्वाभाविक हो । हामीले जम्मा हुने र कार्यक्रम हुने स्थानलाई दृष्टिगत गरेर सुरक्षाकर्मी परिचालन गरेका छौं । दुवै पक्षको कार्यकर्ता र समर्थकको भेटघाट, जमघट र कार्यक्रम हुने रुट पनि फरक फरक तोकेका छौं । अहिलेसम्म घुसपैठ हुने र सुरक्षामा चुनौती दिने घटनाहरु हुने कुनै पनि सूचना छैन ।’
दुवै विरोध कार्यक्रमको सीसीटीभी र ड्रोन प्रविधिबाट निगरानी हुने पनि एसएसपी खत्रीले बताए । उनले थपे, ‘अहिले हामीले दुइटै कार्यक्रमका लागि पर्याप्त सुरक्षाकर्मी परिचालित गरेका छौं । त्यसपछि सीसीटीभी र ड्रोनबाट पनि निगरानी हुन्छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल पनि भएकाले त्यहाँ ड्रोनबाट निगरानी सम्भव छैन । तर सीसीटीभी र प्रहरी तैनाथी हुन्छ । बल्खुमा भने सीसीटीभी र ड्रोन प्रविधि प्रयोग गरेर निगरानी गर्छौं ।’
युवा संघको कार्यक्रम आज मात्र र दुर्गा प्रसाई समूहको कार्यक्रम अनिश्चितकालीन भनिएको पनि खत्रीले जानकारी दिए । उनले भने, ‘दुर्गा प्रसाई समूहले ठूलो संख्यामा उपस्थिति हुने भनेको छ । प्रसाई समूहबाट कति संख्यामा आए भन्ने हामीले यकिन गरेका छैनौं । जति आए पनि सुरक्षा प्रबन्ध गर्नेछौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot