Logo

किसानको आलु कम्पनीले सिधै खरिद गर्ने



वालिङ (स्याङ्जा), ८ मङ्सिर । स्याङ्जाका किसान र आलुका परिकार बनाउने कम्पनीबीच आलु खरिद गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

आलु उत्पादन गर्ने कृषक समूह, सहकारी, कृषि ज्ञान केन्द्र स्याङ्जा, स्थानीय पालिका र फस्ट च्वाइस फुड्स प्रालि रुपन्देहीबीच यहाँ उत्पादन भएको आलु खरिद गर्ने सम्झौता भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताए ।

स्याङ्जामा पहिलोपटक यो कार्यक्रम लागू भएकाले अहिले किसान खेतमा आलु लगाउन ब्यस्त छन् । “यसपटक जिल्लाका विभिन्न आठ पालिकाका २८ समूह सहकारीमार्फत एक हजार सात सय रोपनी क्षेत्रफलमा आलु लगाउँदै हुनुहुन्छ”, उनले भने, “ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रमाणित भएका खुमल उज्जल, खुमल विकास, जनकदेव जातको आलु लगाउने काम भइरहेको छ ।”

छनोट भएका २८ समूह सहकारीलाई कार्यालयले बीउ खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने उहाँले बताउनुभयो । यन्त्र उपकरण खरिदका ५० देखि ७५ प्रतिशत तथा सङ्कलन केन्द्र, प्रशोधन कक्ष, सिँचाइलगायतका पूर्वाधार निर्माणका लागि ८५ प्रतिशतसम्म किसानले अनुदान पाउने छन् । “समूह सहकारीमार्फत उत्पादन भएको आलु बजारमा चलनचल्तीको दरबमोजिम कम्पनीले खरिद गर्ने सम्झौता भएको छ”,उनले भने, “यहाँ उत्पादन भएको आलुको सहज बजारीकरण हुने भएको छ ।”

किसानले उत्पादन गरेको परिमाणका आधारमा कृषि ज्ञान केन्द्रले प्रतिकेजी रु दुई प्रोत्साहन रकम अनुदान उपलब्ध गराउने उनले बताए । आलु उत्पादन गर्ने समूह सहकारीलाई निःशुल्क विषादी, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले बताए ।

आलु लगाउनुपूर्व नै बजारको सुनिश्चितता भएपछि अहिले समूह सहकारीहरू आलुखेतीको विस्तारमा लागेको उनले बताए । “गण्डकी प्रदेश सरकारले अगाडि सारेको यो कार्यक्रमले उत्पादन, प्रशोधन र बजारलाई जोड्ने मुख्य उद्देश्य रहेको छ”, उनले भने, “आगामी वर्षमा यसले थप व्यावसायिक उत्पादन र क्षेत्र विस्तारमा सहयोग पुग्ने देखिन्छ ।”

खुमल उज्जल, खुमल विकास, खुमल उपहार र जनकदेव जातका उत्पादित आलु रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मैनियामा रहेको फस्ट च्वाइस फुड्स प्रालिले खरिद गर्ने सम्झौता भएको कम्पनीका आलु बाली विशेषज्ञ श्याम ढकालले बताए । यस वर्ष कम्पनीले आलुबाट फ्रेन्च फ्राइ, चिप्स उत्पादन गर्ने तयारी गरिरहेको र त्यसका लागि खुमल जातका आलु उपयुक्त हुने उनले बताए । “अर्को वर्ष आलुका नयाँ–नयाँ परिकार बनाउने तयारी गरिरहेका छौँ” उनले भने ।

स्याङ्जाका ११ पालिकामध्ये आठ पालिकाका २८ समूह सहकारी यस अभियानमा जोडिएका छन् । आलु उत्पादनका दृष्टिले पकेट क्षेत्र मानिएको भिरकोट नगरपालिका–५ को पकानमा रहेको पकान आइपिएम कृषक समूहमा आबद्ध ३२ जनालाई अहिले सम्झौतानुसार आलु लगाउन भ्याइनभ्याई छ ।

सम्झौता भई कार्यक्रम लागू भएका स्थानमा अहिले किसान खेतमै व्यस्त देखिन्छन् । बजारको सुनिश्चितता पहिले नै भएकाले अहिले किसान आलु लगाउन निकै उत्साहित र सक्रिय भई लागेका समूहका अध्यक्ष शिवप्रकाश अर्यालले बताए । रासस



प्रतिक्रिया दिनुहोस्