Logo

दुर्गा प्रसाईलाई सुरक्षा दिइएको हो, नजरबन्दमा राखिएको होइन : गृह प्रवक्ता



काठमाडौं, ९ मंसिर । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको नभई सुरक्षा दिइएको बताएका छन् ।
‘भक्तपुर जिल्ला प्रशासन कार्यालयले यो विषयमा हिजो साँझ विज्ञप्ति निकालेको छ । उहाँलाई प्रशासनले सुरक्षा दिएकोसम्म सत्य हो, नजरबन्द राखिएको सत्य होइन । उहाँ आफ्नो इच्छा अनुसार घरमा बस्नुभएको हो । उहाँलाई नजरबन्दमा राख्ने नीति पनि छैन, राखिएको पनि छैन । उहाँले आफ्नो निवासमा मानवअधिकारकर्मी, पत्रकार भेटघाट गरिरहनुभएको छ । जिल्ला प्रशासन काठमाडौंले बल्खुमा कार्यक्रम गर्न भनेकामा उहाँ आफैं जान नचाहेको हो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
हरेक नागरिकलाई शान्तिपूर्ण रुपमा भेला हुने, सभा सम्मेलन गर्ने अधिकार रहेको पनि भट्टराईले स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेर तोकिएको स्थानमा कार्यक्रम गर्न कुनै रोकतोक नभएको पनि उनले बताए । गृह प्रवक्ताले थपे, ‘उहाँले चाहेको ठाउँमा कार्यक्रम गर्न नपाएको होला । तर प्रशासनले ठाउँ उपलब्ध गराइरहेको छ भने निषेध र दमन गर्ने कुरा कहाँबाट आयो ? तर त्यसको सीमा र मर्यादा हुन्छ । सुरक्षा संवेदनशीलता हेरेर आफ्ना कार्यक्रम गर्नुपर्छ ।’
सरकारी निकायले संविधान र प्रचलित कार्यक्रम अनुसार काम गर्ने पनि उनले बताए । भट्टराईले थपे, ‘कानुन उल्लंघन गर्ने, तोडफोड गर्ने, हुलदंगा गर्ने, गाली बेइज्जती गर्ने, जातीय सद्भाव बिथोल्ने कार्य गर्ने हो भने सरकारले कानुनी दायरामा ल्याउँछ ।’ हिजो पक्राउ परेकाहरुलाई सरकारले सोधपुछ गरेर छाडेको पनि उनले बताए ।
प्रसाईको अभियानमा धेरैथरी मान्छे जोडिएको र हिंसात्मक कार्य गर्नेलाई निगरानीमा राखिएको पनि उनले स्पष्ट पारे । भट्टराईले भने, ‘यो आन्दोलनमा धेरै तयारी देखिन्छ । धेरैथरी विचार लिएर आएका देखिन्छन् । कतिपय राजनीतिक, कतिपय आर्थिक, कतिपय अन्यान्य एजेन्डा लिएर आएका छन् । कतिपय व्यक्तिहरुबाट गुलेली जफत भएको छ । त्यस्ता व्यक्तिप्रति प्रशासनले सहनशीलता राख्न सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot