Logo

काठमाडौंका सिडिओ भन्छन्— आन्दोलन दुर्गा प्रसाईको नियन्त्रणबाहिर छ



काठमाडौं, ९ मंसिर । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईलाई नजरबन्दमा राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
‘दुर्गा प्रसाईज्यूको घर काठमाडौंमा छँदा पनि छैन । काठमाडौंको स्थानीय प्रशासनले उहाँलाई नजरबन्दमा राख्ने कुरा नै भएन । मलाई प्राप्त जानकारी अनुसार उहाँलाई नै नजरबन्दमा राखिएको छैन । हामीले उहाँलाई काठमाडौं प्रवेश गरेदेखि नै सुरक्षा प्रदान गर्दै आएका थियौं । उहाँको घरमा पनि सुरक्षा चुनौतीका आधारमा सुरक्षा दिइएको हो । यो किसिमको अफवाह किन फलिरहेको छ, हामी पनि बुझिरहेका छैनौं । उहाँलाई सुरक्षा प्रदान गरिएको हो । उहाँलाई सुरक्षा चाहिँदैन भने राज्यलाई हटाइदिनुस् भन्नुपर् यो । उहाँलाई हामीले नजरबन्दमा राख्नुपर्ने कुनै कामै छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
प्रजिअ बस्नेतले प्रसाईले आज पनि तीनकुनेमा कार्यक्रम गर्न नपाउने बताए । उनले थपे, ‘उहाँ हिजो हामीले भनेको ठाउँमा जानु भएन । हामीसँग स्वीकृति नलिएको ठाउँमा जबर्जस्ती कार्यक्रम गर्न खोज्नुभएको थियो, त्यसैले उहाँको कार्यक्रम हुन नसकेको हो । आज पनि तीनकुनेमा कुनै पनि हालतमा कार्यक्रम हुँदैन । आजका लागि हामीले सिफलचौरमा तोकेका छौं । शान्तिपूर्ण कार्यक्रम गर्न खोज्नुभयो भने हामी सुरक्षा प्रदान गर्छौं । अस्ति बल्खुमा जस्तै दायाँबायाँ गर्न खोज्नुभयो र विभिन्न अराजक हर्कत देखाउनुभयो भने ठाउँका ठाउँ नियन्त्रणमा लिन्छौं र कानुनी कारबाही गर्छौं ।’
अस्ति राष्ट्रिय युवा संघलाई किन तीनकुनेमा कार्यक्रम गर्न दिनुभयो त भन्ने पत्रकार धमलाको प्रश्नमा प्रजिअ बस्नेतले भने, ‘तीनकुने अन्तर्राष्ट्रिय विमानस्थल छेउमा छ । आयल निगमको हवाई डिपो छ । अस्ति हामीसँग अप्सन थिएन । त्यसैले पर्यटन मन्त्रालयसँग समन्वय नगरी दिएका थियौं । आइकाओको प्राटोकल अनुसार त्यसरी कार्यक्रम गर्न दिन मिल्दैन भनेर अस्ति नै पर्यटन मन्त्रालयले प्रश्न उठाएको छ । त्यसैले हामीले तीनकुनेको अप्सन हटाइसकेका छौं । अब कुनै पनि किसिमका कार्यक्रम तीनकुनेमा राख्न दिँदैनौं । हामीले तीनकुनेलाई सूचीबाट हटाइसकेका छौं ।’

प्रसाई समूहलाई आन्दोलनका कार्यक्रम शान्तिपूर्ण, व्यवस्थित, मर्यादित र अनुशासित बनाउन भनेको पनि काठमाडौंका प्रजिअले प्रस्ट पारे । साथै उनले प्रसाईको समूह नियन्त्रण बाहिर रहेको जिकिर गरे । उनले भने, ‘हामी आन्दोलनका नाममा कुनै पनि गैरकानुनी गतिविधि गर्न छुट दिन सक्दैनौं । उहाँको समूहमा अराजक झुण्डहरु छन् । त्यो उहाँहरुको नियन्त्रणबाहिर छ । अराजक झुन्डले निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, उच्चपदस्थ व्यक्तिहरुको निवास घेराउ र आक्रमण गर्ने गलत मनासायको कार्यक्रम अघि बढाउन खोजेको सूचना हामीले पाएका छौं । धारिला घरेलु हातहतियार, गुलेली, लाठी, डन्डी, रड, झन्डा बनाउने लाठीकी तिखो बनाउने भनेर आन्तरिक सर्कुलर गरेको पाएका छौं । त्यस्ता व्यक्तिलाई हामी पक्राउ गर्छौं, मुद्दा पनि लगाउँछौं । काठमाडौंमा कुनै पनि व्यक्तिको त्यस्तो हर्कत चल्दैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot