काठमाडौं, ९ मंसिर । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको जहाजबारे उठेको प्रश्नबारे गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । हिजो (शनिबार) निगमले एक विज्ञप्ती जारी गर्दै निगमले खरिद गर्न लागेको STOL Route मा उड्ने जहाज सम्बन्धमा खरिद प्रक्रिया पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिईएको र निगमले सार्वजनिक खरिद ऐन, नियमबमोजिम २२ अक्टुबर २०२३ मा सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाएको छ ।
निगमको सुधारको लागि बनेका अहिलेसम्मका आयोग, अध्ययन समिति र निगमभित्रै अध्ययन प्रतिवेदनले समेत बजारमा ध्वजावाहकले आफ्नो उपस्थिति देखाउन निगमलाई तत्काल STOL Route मा उड्ने जहाज आवश्यकत्ता छ भन्ने औंल्याएको पनि विज्ञप्तीमा जनाईएको छ । जहाज ६/६ महिनाको अन्तरमा ल्याउने र सम्पूर्ण रकम एकैपटक तिर्ने नभएर पटक-पटक तिर्दै जाने र सोको व्यवस्थापन आन्तरिक स्रोतबाट निगम सक्षम रहेको निगमको भनाई छ ।
निगमले दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाजको उपलब्धता अपरिहार्य भएको जनाएको छ । सात सदस्यीय सञ्चालक समितिमा एक जना अर्थ मन्त्रालयका प्रतिनिधिले नोट अफ डिसेन्ट राखेका थिए । विज्ञप्तीमा भनिएको छ-“अर्थ मन्त्रालयको प्रतिनिधिले नोट अफ डिसेन्ट लेखेको भन्ने सम्बन्धमा निगमका सात जना सञ्चालक समिति सदस्य रहने र निर्णय प्रक्रियामा सर्वसम्मत् वा सामान्य बहुमतबाट निर्णय गर्नसकिने प्रावधान रहेको छ । अर्थ मन्त्रालयको प्रतिनिधिबाहेक सबै ६ जना सञ्चालकहरुले जहाज खरिद गर्ने निर्णयको पक्षमा र अर्थ मन्त्रालयका प्रतिनिधिले सुझावसहित हस्ताक्षर गरेको हुँदा निर्णय प्रक्रिया विधिसम्मत् भई टेण्डर समेत आह्वान भइसकेकोले यसमा अन्यथा मानिराख्नु पर्दैन् ।”
निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,“मुलुकको हवाई क्षेत्रमा निगमले पुर्याउँदै आएको सेवा, अफ्गानिस्तानमा भएको उद्धार, कोभिड महामारीको बखत चीनको वुहानबाट नेपालीहरुको उद्धार, इजरायलबाट नेपालीहरुको उद्धार, जाजरकोटमा गएको भूकम्पबाट भएका घाईतेहरुको उद्धारजस्ता विभिन्न विपद् तथा संकटमा ध्वजावाहकको योगदान तथा मुलुकको पर्यटन प्रवद्र्धनमा खेल्दै आएको भूमिका महत्वपूर्ण विषय हो । उक्त कुरालाई मध्यनजर गर्दै निगमको वर्तमान व्यवस्थापनले राष्टिय ध्वजावाहकको गुणात्मक सुधारको लागि उल्लेखनीय कार्यहरु गर्दै आएको छ। तसर्थ, निगमका सम्बन्धमा समाचार प्रकाशन गर्दा निगमको आधिकारिक धारणासहित सत्य र तथ्य राखिदिनुहुन सबैमा अनुरोध छ ।”
निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वदायी भूमिकाकै कारण निगम यतिवेला सुधारको बाटोमा छ । अधिकारी कार्यकारी अध्यक्षको जिम्मेवारीमा ०७८ कार्तिकमा नियुक्त भएका थिए । निगमले आर्थिक अवस्थामा सुधार आएसँगै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुईवटा न्यारोबडी जहाजको पूरै र वाइडबडी जहाजको आंशिक गरी ४ अर्ब ३० करोडभन्दा बढी ऋण तिरेको छ । यस्तै, निगमले अन्तिमपटक गएको असोज ३० गते ५३ करोडभन्दा बढी किस्ता तिरेको छ । त्यसअघि तिरेको ३ अर्ब ७७ करोड समेत जोड्दा अधिकारीको नेतृत्वमा तिरिएको ऋणको अंक ४ अर्ब ३० करोडभन्दा माथि पुगेको तथ्यांक सार्वजनिक भएका छन् ।
निगमले अस्ट्रेलियामा छिट्टै आफ्नो उडानको तयारी थालेको छ । अस्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो, चीनको गोञ्झाओ र दक्षिण कोरियामा उडान भर्नका लागि निगमले गृहकार्य अन्तिम चरणमा पु¥याएको छ ।