Logo

राजावादी भनाउँदा दुर्गा प्रसाई र ज्ञानबहादुर शाहीलाई काँडैकाँडाको लट्ठीले खुट्टैखुट्टामा हान्नुपर्छ : माओवादी पूर्वलडाकु



काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसिंह प्रजाले दुर्गा प्रसाई र ज्ञानेन्द्र शाही जस्ता राजावादीलाई जनकारबाही गर्ने चेतावनी दिएका छन् ।
‘राजावादी भनाउँदा दुर्गा प्रसाई र ज्ञानबहादुर शाहीले मरेको राजाको जुठोपुरो खाएर राजा ल्याऊ देश बचाऊ भन्दैमा हुन्छ ? देशमा बेरोजगारी नै बेरोजगारी छ । दुईचार सय मान्छे कहिले कसको पछि लाग्छन्, कहिले कसको पछि लाग्छन् । राजाका रैतीहरुसँग दम छ भने प्रचण्डजस्तै नेतृत्व गरुन् न । बेकारमा किन ल्याङल्याङ गरको ? जनतालाई राजा चाहिएको छैन । १७ हजार महान् सहिदले रगतसँग साटेको गणतन्त्रको विकल्प खोज्नेलाई काँडैकाँडाको लट्ठीले खुट्टैखुट्टामा हान्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
प्रजाले बैंकको ५ अर्ब ऋण तिर्न नसक्ने दुर्गा प्रसाईले अरुको ऋण मिनाहा गर्न नसक्ने जिकिर गरे । उनले भने, ‘नाथे दुर्गा प्रसाईले भन्दैमा हुन्छ ? लघुवित्त र सहकारीले ढाड सेक्ने गरी ब्याज लिएका छन् भने किन ऋण लिएको त ? पहिले उसले बैंकको ५ अर्ब ऋण तिरोस् न ।’
गणतन्त्रले नेपालीलाई धेरै अधिकार दिएको उनको जिकिर छ । प्रजाले थपे, ‘यो देशमा गणतन्त्रकै कारण महिला र मधेसी राष्ट्रपति बने । दुर्गा प्रसाई पनि भोलि पार्टी खोलेर प्रधानमन्त्री बन्न सक्छ । साथै उनले नेपालमा हिन्दु धर्म मान्ने बढीमा ३० प्रतिशत मात्र रहेको दाबी गरे । उनले भने, नेपाल धर्मनिरपेक्ष भइसक्यो । यहाँ मन्दिरमात्र होइन चर्च बनाउने, मस्जिद बनाउने अधिकार पनि छ । कुनै जोगीले भन्दैमा हिन्दु राज्य आउँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot