Logo

मुगु पुगेर राजसंस्थाबारे खनिए शंकर पोखरेल भन्छन्- देश पछाडि पर्नुमा सबैभन्दा बढी जिम्मेवार ज्ञानेन्द्र शाह हुन्



काठमाडौं,१० मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकासका दृष्टिकोणले देशलाई सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको दाबी गरेका छन् ।

नेकपा एमाले मुगु जिल्ला कमिटीको नवौं अधिवेशनलाई शनिबार सदरमुकाम गमगढीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न नसक्ने धारणा राखे ।

कालापानीको लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतीय कब्जामा पुग्नुमा राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएकाले हो भन्ने यथार्थ बुझ्नुपर्ने उनको भनाइ छ ।

महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता, वर्तमान गठबन्धन सरकारको असफलताका कारण अराजकता सिर्जना भइरहेको र अराजकतावादीहरूले ठूलो बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउन थालेको बताए ।

देशको अर्थतन्त्र तहस नहस भएको, विकास, निर्माणका काम ठप्प भइरहेको, समाजमा अराजकता मौलाइरहेको र जनतामा निराशा पैदा भइरहेको विषम अवस्थालाई बेवास्ता गर्दै सबैभन्दा ठूलो र पुरानो भनिएको दल नेपाली कांग्रेस दुई बर्षपछि सरकारको नेतृत्व गर्ने पालो पर्खेर बसिरहेको महासचिव पोखरेलले बताए ।

कांग्रेसले आफ्नो नीति अनुसार नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको बताउँदै उनले प्रश्न गरे– देश विग्रेको टुलुटुलु हेरेर बस्ने कि सरकारको नेतृत्व फेर्ने ? माओवादी नेतृत्वको वर्तमान सरकार देशका लागि नभई विदेशीका लागि कम्फर्टेबल सरकार हो भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले पुष्टि गरेको महासचिव पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले जनप्रतिनिधिले शासन गर्ने अधिकारलाई कमजोर बनाउँदा जनतामा निराशा पैदा भएको विचार व्यक्त गर्नुभयो । २०७४ सालको संसदीय निर्वाचनमा जनताले एमाले र माओवादीलाई बहुमत दिएका थिए, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई हरेक प्रकारले सकारात्मक दिशामा अगाडि बढाइरहेको अवस्थामा त्यो सरकार हटाइएपछि जनतामा निराशा बढेको विचार उनले व्यक्त गरे ।

महासचिव पोखरेलले भने– नालायक गठबन्धन सरकारका कारण अर्थतन्त्र सङ्कटमा परेको छ । बर्सेनि लाखौं युवा विदेशिइरहेका छन् । देश बनाउनुपर्ने जनशक्तिलाई खाडी मुलुकमा पठाएर कसरी देश बन्छ ? अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सडक, हवाई मैदान, भवनहरू निर्माण लगायत भौतिक पूर्वाधारका कामहरू भएका, सुरुङ मार्ग, सिंचाइ परियोजना जस्ता रोजगारी सिर्जना गर्ने आयोजनाहरू शुरु गरिएको र विदेश जाने युवाको सङ्ख्यामा कमी आएको चर्चा गर्दै त्यसैगरी रोजगारी बढाउने ठूला परियोजना सञ्चालन गर्नुपर्ने धारणा महासचिव पोखरेलले राखे । एमालेले मिसन ग्रासरुटको प्रतिवेदनका आधारमा देश कसरी बनाउने भन्ने नयाँ योजनाका साथ अगाडि बढिरहेको र कर्णालीको समृद्धिको आधार के हो भन्ने कुरामा पनि प्रस्ट रहेको उनले सुनाए ।

महासचिव पोखरेलले भने– कर्णालीलाई पर्यटकीय केन्द्र बनाउन सकिन्छ । जलविद्युत परियोजना कर्णाली समृद्धिको अर्को आधार हो । यहाँका जडिबटी, यार्सागुम्वा भविष्यमा फार्मिङ गरेरै उत्पादन गर्न सकिन्छ । त्यसका लागि दूरदृष्टि भएको नेतृत्व र त्यसलाई अगाडि बढाउने बलियो संगठन चाहिन्छ । आफूहरूनेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने र आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाई देशको विकास र समृद्धिको नेतृत्व गर्ने सङ्कल्पका साथ अगाडि बढिरहेको बताउँदै त्यही सङ्कल्पको एउटा कदम यही मङ्सिर १४ गतेदेखि मध्यपहाडि (पुष्पलाल) लोकमार्ग यात्रा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा शुरु गर्न लागिएको उनले स्पष्ट गरे।

महासचिव पोखरेलले यस अघि पटक पटक तराईको भूभागमा मेची–महाकाली यात्रा गरिएको स्मरण गर्दै यसपछि हिमाली क्षेत्रको विकासको सम्भावनाको जानकारी लिन हिमाली जिल्लाको यात्रा पनि गरिने बताए ।

अधिवेशन उद्घाटन सत्रमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, यामलाल कँडेल लगायत नेताहरूले शुभकामना मन्तव्य राखेका थिए



प्रतिक्रिया दिनुहोस्

Screenshot