Logo

नेपाल सुपर लिग-२०२३: वीरगंज युनाइटेडलाई हराउँदै धनगढी एफसीको विजयी सुरुवात



काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग-२०२३ को चौथो खेलमा नवप्रवेशी वीरगंज युनाइटेडलाई हराउँदै धनगढी एफसीले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भभएको खेलमा दुई विदेशी खेलाडीको गोलमा साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडलाई २-१ ले हराएर विजयी सुरुवात गरेको हो । धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले गोल गरे । वीरगंजका लागि हान्स क्वाफीले पेनाल्टीमा एक गोल गरे ।

धनगढीले खेलको दोस्रो मिनेटमै गोल गरेर अग्रता लिएको थियो । आफिज ओलवालेको डी बक्स भित्रै मिलाएको छोटो पासमा फोडे फोफानाले कुनै गल्ती नगरी गोल गरेका थिए । वीरगञ्जका गोलकिपर दीप कार्कीले गोल रोक्ने कुनै मौका नै पाएनन् । उता नवप्रवेशी टिम विरगञ्जले पहिलो हाफमा थपिएको अतिरिक्त समयमा पाएको पेनाल्टीमार्फत गोल गरेको थियो । त्यसपछि अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जित दिलाए ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् । प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot