काठमाडौं, ११ मंसिर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने घोषणा गरेका छन् । पार्टीको आज (सोमबार) बाट सुरू भएको स्थायी कमिटी बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले भ्रष्टाचारी, हत्यारा र लुटेराहरुलाई संरक्षण गरेकोले पीडितले न्याय पाउन नसक्ने अवस्था सुनाए । यस्तो अवस्थामा अब आफ्नो दलले हत्यारा र दोषीहरुलाई पक्राउ गरेर राज्यलाई बुझाउने तयारी गरेको उनको घोषणा छ । उनले अब मुलुकमा न्याय स्थापित गराउने सवालमा जनता आँफै जाग्नुपर्ने उल्लेख गर्दै त्यसको अगुवाई आफ्नो दलले गर्ने स्पष्ट पारे ।
उनले अहिलेपनि गाउँ÷घरमा डाका र चोरहरुलाई जनताले पक्राउ गरेर बुझाउने परिपाटी रहेको उल्लेख गर्दै देश लुट्नेलाई पनि जनताले अब छोड्न नहुने बताए । उनले भने,‘गाउँघरका डाका र चोरहरु पनि अपराधी हुन्, तर तीभन्दा ठूलो चोर र डाका भनेको यो देशका भ्रष्टाचारी, कमिसनखोरहरु हुन् । उनीहरुलाई जनताले अब ठाउँको ठाउँ कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई अब जनताले भाटे कारबाही गर्नुपर्छ ।’
साहले महिनौं महिनादेखि आरती साहका परिवारले न्यायको लागि काठमाडौंको माईतीघरको चिसो सडकमा बसेर भिख माग्दापनि राज्यले अहिलेसम्म कुनै सुनुवाई नगरेकोमा पनि आक्रोश पोखे । उनले भने,‘के यो देशमा न्याय मरिसकेको हो र ? एउटा परिवार महिनौंदेखि न्यायको लागि काठमाडौंमा छ । तर, राज्यले कुनै सुनुवाई गरेको देखिएन । अब आरती साहको हत्यारालाई पनि पक्राउ गरेर अब सरकारलाई बुझाउनुपर्छ । हत्यारा अहिलेपनि खुलेआम हिँडिरहेको अवस्था छ ।’
सो अवसरमा साहले मुलुक यतिवेला राजनीति, सामाजिक र आर्थिक संकटबाट गुज्रिरहेको टिप्पणी गरे । उनले भने,‘मुलुक संकटग्रस्त छ । कुनैपनि सूचांक राम्रो छैन् । देशलाई संकटबाट पार लगाउनको लागि हामी केन्द्रित भएर लाग्नुपर्छ । अहिलेपनि देशमा राजनीतिक अस्थिरता हाबी भएको छ । नेतृत्वप्रति जनताको चरम अविश्वास छ । हाम्रो पार्टीले देशलाई अब संकटबाट निकाल्नको लागि यो व्यवस्था असफल भैसकेको निश्कर्ष निकालेको छ । तत्काल अन्तरिम सरकार गठन गर्नुपर्छ ।’
देशमा अहिले सत्ताको चाख मार्नेहरुले गणतन्त्र र लोकतन्त्रको दुहाई दिएपनि देशमा असली रुपमा लोकतन्त्र वा गणतन्त्र केही पनि नभएको उनको आरोप छ । उनले भने,‘कहाँ छ लोकतन्त्र ? गणतन्त्र भनिएको छ, यस्तै हुन्छ गणतन्त्र ? यहाँ त दलतन्त्र छ । लुटतन्त्र छ । दलतन्त्रमा पनि केही ठूला दलका शीर्ष भन्ने नेताहरुको सिण्डिकेट छ । अनैतिक राजनीति हाबी छ । चुनावमा एउटासँग गठबन्धन अनि सरकार बनाउँदा अर्कैसँग भएको छ । यस्तो पनि राजनीति हुन्छ ? अहिले देखिएको फोहोरी राजनीतिलाई हामी शुद्ध बनाउन चाहन्छौं ।’ साहले अब आफ्नो पार्टीले भोट–फिर्ता अभियान चलाउनेपनि घोषणा गरे ।
नकाअनुसार एउटा जनादेश लिएर अर्को काम भैरहेकोले अब पार्टीले भोट फिर्ताको अभियान चलाउन लागेको हो । उनले बजारमा अहिले पैसाको हाहाकार रहेको पनि सुनाए । उनले बैंकहरुको पनि देशमा यतिवेला मनोमानी चलिरहेको आरोप लगाए । उनले अब बैंकहरुको लुटको विरुद्धमा आफूहरु सडकमा आउने पनि चेतावनी दिए । उनले बैंकको ऋण आम जनताको पहुँचमा हुनुपर्नेमा जोड दिए । उनले अहिले किसानको हालत पनि त्यस्तै रहेको चित्रण गरे । समयमा विउ, मल र खाद्य नपाउँदा किसानहरु मारमा परेको उनको भनाई छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्प गएको एक महिना बित्न लाग्दापनि सरकारले पीडितहरुलाई अस्थायी बसोबास र खानाको उचित प्रवन्ध गर्न नसकेको साहको आरोप छ । उनले पूननिर्माणको कार्यलाई पनि तत्काल थाल्न सरकारसमक्ष सुझाव दिए । यस्तै, गरिब आवासको लागि ७५ हजार रुपैयाँ छुट्याएर सरकारले गरिबीको मजाक गरेको पनि उनको आरोप छ । उनले भने,‘७५ हजारमा आवास बन्छ ? यो कस्तो मजाक हो ?’ गरिब आवासको लागि सरकारले पर्याप्त रुपमा बजेटको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
अध्यक्ष साहले देशका युवा शक्ति विदेश पलायन भैरहनु दुःखलाग्दो अवस्था भएको पनि चित्रण गरे । अहिले नेपाल सरकार उच्चपदस्थ, सरकारी कर्मचारीका छोराछोरी विदेश पढ्न जाने र उतै पलायन हुने क्रम बढ्दो रहेकोले यसले देशको राष्ट्रिय पुँजी पनि पलायन भैरहेको उनको भनाई छ । श्रम मन्त्रालयबाट प्राप्त डाटाकाअनुसार पनि ७ लाख नेपाली यतिवेला श्रम स्विकृत लिएर विदेश रहेको भएपनि त्यसको तुलनामा देशमा रेमिट्यान्स नगन्य मात्रा आएको भन्दै अहिले हुण्डीका कारोबारीले देशलाई अस्तव्यस्त बनाउने काम गरेको उनको आरोप छ । उनले अब वैधानिक विप्रेषणको खोजी गरिनेपनि घोषणा गरे ।
यस्तै साहले अहिले वैदेशिक रोजगारीको नाममा पनि व्यापक ठगी र लुट चलिरहेको भन्दै यतातर्फ पनि पार्टीले आवश्यक र प्रभावकारी कदम चाल्ने विश्वास दिलाए । उनले भने,‘अहिले गाउँ गाउँमा म्यानपावरका एजेण्टहरु सलबलाईरहेका छन् । यो ठगी रोक्नेगरि कदम चाल्नुपर्छ । विदेशमा निधन भएकाहरुको शब नेपाल ल्याउन महिनौं लाग्ने गरेको छ ।’
शिक्षा क्षेत्रमा पनि अहिलेपनि विभेदकारी नीति र व्यवहार देखिएको उनको टिप्पणी छ । उनले भने,‘सरकारी र निजी क्षेत्रमा फरक फरक पाठ्यसामाग्री छन् । शिक्षा नीति नै असमानता छ । मदरसा शिक्षा बोर्ड गठन गरिएको छैन् । हाम्रो पार्टीले यसको लागि पहल गर्नेछ ।’
साहले सो क्रममा राजश्वमा हुने चुहावट, भन्सार नियामावलीमा लुटकारी व्यवस्था राखिएको विषयमा पनि आपत्ति जनाए । दशैं, तिहार र छठजस्ता मुख्य चाडमा पनि चिनीलगायतका अत्यावश्यक वस्तुको हाहाकार हुनु र पाईहालेपनि तीन गुणा महँगी हुनु दुःखदायी अवस्था भएको उनको टिप्पणी छ । उनले महँगी, कालोबजारी र मिसावाट रोक्नको लागि पार्टीले उचित कदम चाल्नेगरि निर्णय लिनेपनि विश्वास दिलाए ।
यस्तै, साहले देशको गौरव बढाउने राष्ट्रिय खेलाडीहरुले स्वदेशमा आफ्नो भविष्य सुनिश्चित् नदेखेर विदेश पलायनको बाटो रोज्नु पनि दुःखदायी अवस्था भएको चित्रण गरे । उनीहरुको उचित व्यवस्थापनको लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि साहको सुझाव छ । यस्तै, भूमि आयोगप्रति पनि उनले आफ्नो असहमति जाहेर गरे । अहिलेपनि मुलुकमा बालुवाटारजस्तो सार्वजनिक सम्पत्ति निजी बनाउनेहरु सक्रिय रहेको उनको आरोप छ । उनले भूमी आयोगको काम मुठ्ठीभरका मानिसलाई पोस्नेबाहेक केही हुन नसक्ने पनि दाबी गरे ।