Logo

सकियो चतुर्मास, विवाह-व्रतबन्धको सिजन शुरु



काठमाडौं, मंसिर १२ । कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा चतुर्मास वा कार्तिकस्नान समाप्त भएको छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको चतुर्मास सोमबारदेखि सकिएको हो ।

कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन । यो समयमा भगवान् विष्णु निद्रामा हुने भएकाले शुभ तथा मंगल कार्यहरू रोकिएको मानिन्छ ।

हिजो सोमबारबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने जनविश्वास रहेको छ । मंसिर लागेसँगै विवाह तथा व्रतबन्धका साइतहरू धमाधम सुरु हुन्छन् ।

चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठूला पूजा(आजा सुरु भएका छन् । भगवान् शिवले यसैदिन त्रिपुरासुर नामक दानवको अन्त्य गरेको पुराणमा उल्लेख छ । यो दिन पवित्र नदी तलाउमा स्नान गर्ने र चन्द्रमा उदय भएपछि साँझ शिवजीको पुजा गर्ने चलन छ ।

औँसीमा पितृकार्य गरिएजस्तै देवीदेवता सम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ । चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ ।

चतुर्मास सँगसँगै सनातनी हिन्दु धर्मालम्बीहरुका लागि सोमबारबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादसैँको समापनसँगै सुरु भएको कार्तिक स्नान समापन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot