Logo

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा, प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट्ने



काठमाडौं,१२ मंसिर । प्रहरी प्रहरी ऐन कार्यान्वयनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् । काठमाडौं आएका सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका हुन् ।

दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ ।

प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

प्रदेशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन आवश्यक कानुन नबनाएको गुनासो गर्दै यसअघि पनि उनीहरूले प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै आएका छन् ।

यसअघि पनि मधेश, बागमती र कोशी प्रदेशले प्रहरी समायोजन लगायतका अधिकार माग्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने उद्घोष गरिसकेका छन् । कोशीका मुख्यमन्त्री केदार कार्की र मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकार उपलब्ध नगराए सिंहदरबार घेर्ने चेतावनी दिईसकेका छन् । उता बागमती प्रदेशले त संघीय सरकारविरुद्ध सर्वोच्चमा रिटसमेत दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot