Logo

सुदूरपश्चिमसँग हारेसँगै उपाधि होडबाट बाहिरियो पुलिस,मधेश सेमिफाइनलमा प्रवेश



काठमाडौं,१२ मंसिर । विभागीय टिम नेपाल पुलिस क्लब मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी अ‍ोली कप टी-२० क्रिकेटको नकआउट चरणबाटै बाहिरिएको छ ।

आज भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको विभागीय टिम पुलिस नेट रनरेटका आधारमा मधेश प्रदेश भन्दा पछि परेपछि उपाधि होडबाट बाहिरिएको हो ।

समूह चरणको दुबै खेल सकिँदासम्म एकमा जित र एकमा हार व्यहोरेको पुलिसको रेटरनरेट १ दशमलव ०८४ रहँदा मधेश प्रदेशको १ दशमलव ४७२ रहेको छ । पहिलो खेलमा लज्जास्पद हार ब्यहोरेको सुदूरपश्चिमको नेटरन रेट भने -३.२२९ रहेको छ ।

पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टिम नेपाल पुलिस क्लबलाई ४ विकेटले पाखा लगाएको थियो ।

पोखरा क्रिकेट मैदानमा नेपाल पुलिसले दिएको १५९ रनको चूनौतिपूर्ण लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १८ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

चूनौतिपूर्ण लक्ष्य र सिनियर टिमका आधा दर्जन खेलाडी सामेल रहेको पुलिसलाई पाखा लगाउन सुदूरपश्चिमका किरणकुमार ठगुन्नाले विष्फोटक ब्याटिङ गरे । उनले मात्र ३४ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ५१ रनको अर्धशतकिय पारी खेले । त्यस्तै नरेर साउदले ३९ रन थपेको खेलमा नारायण जोशीले केवल ७ बलमा १७ रनको योगदान दिएपछि सुदूरपश्चिमले जित सुनिश्चित गरेको हो ।

बलिङतर्फ पुलिसका रसिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले समान १ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको ६७ रनको अर्धशतकीय पारीको मद्दतमा सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दिएको थियो । उसका लागि भुर्तेलले ६७ रन, तथा अर्का ओपनर सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपेका थिए ।

अब मधेशले फाइनल प्रवेशका लागि अर्को विभागीय टिम एपीएफसँग खेल्नेछ । भने समूह ए को विजेता बनेको बागमतीले फानल प्रवेशका लागि आज हुने आर्मी र कोशी प्रदेशबीचको खेलको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot