Logo

राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न सक्दैन् : शंकर पोख्रेल



काठमाडौं, १२ मंसिर । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले विकासका दृष्टिकोणले देशलाई सबैभन्दा पछाडि पार्ने काम राजा र राजतन्त्रले गरेको दाबी गरेका छन् । दुर्गा प्रसाईं र राजावादीहरुले राजसंस्थाको वकालत गरेको बेलामा एमाले महासचिव पोख्रेलले राजसंस्थाबारे आक्रामक अभिव्यक्ति दिएका हुन् ।

यही मंसिर ७ गते प्रसाईंले व्यवस्था खारेज गर्ने भन्दै राजसंस्थाको वकालत गर्दै काठमाडौंमा ९ हजार मान्छे उतारेका थिए । त्यही दिन एमालेले पनि विद्यार्थी–युवा पँक्तिलाई व्यवस्थाको पक्ष र सरकारको गलत कामकारबाहीको विरुद्धमा सडकमा उतारेको थियो । यो बीचमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि पूर्वराजा ज्ञानेन्द्र शाहबारे कडा टिप्पणी गरे । एमाले महासचिव पोख्रेलले भने पूर्वराजा ज्ञानेन्द्र झापाको एक कार्यक्रममा सरिक भएकै दिन राजा र राजतन्त्रले देशलाई सबैभन्दा पछाडि पारेको दाबी गरे । त्यो पनि मुगु पुगेर ।

पार्टीको मुगु जिल्ला कमिटीको नवौं अधिवेशनलाई सदरमुकाम गमगढीमा उद्घाटन गर्दै महासचिव पोखरेलले राजा र राजपरिवारका सदस्यको रक्षा गर्न नसक्ने राजसंस्थाले जनताको रक्षा गर्न नसक्ने धारणा राखेका थिए । कालापानीको लिम्पियाधुरा, लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतीय कब्जामा पुग्नुमा राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएकाले हो भन्ने यथार्थ बुझ्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरता, वर्तमान गठबन्धन सरकारको असफलताका कारण अराजकता सिर्जना भइरहेको र अराजकतावादीहरूले ठूलो बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउन थालेको बताएका थिए । हिजोमात्रै एमाले सचिव योगेश भट्टराईले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर कडा टिप्पणी गरेका थिए । उनले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot