Logo

दलबलसहित रवि मधेश झर्दा पहाड उक्लिए सिके राउत



काठमाडौं,१२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी छ । मधेश प्रदेश अन्तर्गत महोत्तरीको जलेश्वरमा रास्वपाको बैठक बसिरहेको हो ।

जारी संसदीय दलको बैठकपछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने र त्यसपछि संसदीय दल तथा केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बस्नेछ । यो बैठक तीन दिनसम्म लगातार चल्ने रास्वपाले जनाएको छ । बैठकमा पार्टीको भावि कार्यदिशा र सांसदहरुले आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् ।

रास्वपा मधेशमा झरिरहँदा मधेशवादी दलको रुपमा गत आम निर्वाचनबाट उदाएको जनमत पार्टी भने कर्णाली पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतको नेतृत्वमा जनमत पार्टीको टोली कर्णाली प्रदेशको जाजरकोट पुगेको हो ।

सोमबार भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेको जनमतको टोली केही दिन उतै रहँने बताईएको छ । जनमत पार्टी राहत साम्रागीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो ।

गत आम निर्वाचनबाट संसदीय राजनीतिमा उदाएको रास्वपा र जनमत पार्टी छोटो समयमा नै लोकप्रिय मतकासाथ राष्ट्रिय दल बनेका थिए । जनमत मधेश केन्द्रीत पार्टीको रुपमा चिनिँदै आएको छ । उसले प्रत्यक्षतर्फ जितेको एक क्षेत्र र समानुपातिकमार्फत पाएको ५ सीट सबै मधेशकै मत हो । मधेशमा आफ्नो प्रभाव रहेपनि अन्य क्षेत्रमा संगठन विस्तार नहुँदा सोचेअनुरुप मत परिणाम नआएको निष्कर्षसहित जनमत पार्टी पहाड उक्लिएको हो । सोमबार पहाड उक्लिएको जनमतले कर्णालीका विभिन्न जिल्लामा पुगेर संगठन निर्माण गर्नेछ ।

जनमतको ठिक उल्टो रास्वपा पनि संगठन विस्तारकै हेतुले मधेश छिरेको हो । यद्यपि उसले जनतासँग चिनजान र भेटघाटका लागि भनेको छ । संसदीय निर्वाचनमा राम्रो मत पाएर संसदको चौथो शक्तिको रुपमा उदाएको रास्वपाले मधेशमा प्रत्यक्षतर्फ कुनैपनि स्थानमा जित हात पारेको छैन् ।

दुबै दलले आउँदो निर्वाचनमा उल्लेख्य मतका साथ आफ्नै नेतृत्वमा सरकार गठान गर्नेसम्मको तयारी गरेर आक्रामक रुपमा संगठन विस्तार गर्दै आएका छन् । विभिन्न सभा सम्मेलनमार्फत सयौंको संख्यामा आफ्नो पार्टीमा नेता कार्यकर्ता भित्र्याएका जनमत पार्टीका अभ्यक्ष सिके राउतले मधेश प्रदेशमा त ०८४ को निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा एकमना सरकार बनाउने संकल्प गरेका छन् । उता रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपाले पनि ०८४ को निर्वाचनमा एकल वहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै आएको छ ।

रास्वपा मधेश झर्दा कर्णाली उक्लिएको जनमत पार्टीमा नेता कायकर्ताले पार्टी एकता गरेर अगाडि बढ्न सुझावसमेत दिएका छन् । फरक-फरक परिवेश र चुनावी एजेण्डाबाट राजनीतिमा उदाएपनि समयको आवश्यक्ता र देशको मागअनुसार यी दुई दलहरु मिल्नुपर्ने आवाज बाक्लिँदै गएको छ ।

तर,दुबै दलले आधिकारीकरुपमा कुनैपनि धारणा सार्वजनिक गरेका छैनन् । जनमतले एजेण्डा र सिद्धान्त मिल्ने दलसँग निकट भविष्यमा चुनावी तालमेल हुनसक्ने बताईसकेको छ । तर, रास्वपाले यसबारेमा मुख खोलेको छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot