काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १८७ रनको विशाल लक्ष्य प्रस्तु गरेको छ ।
पोखरा रंगशालामा टस जितेर सुरुवातमा ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रनको विशाल योगफल खडा गर्यो ।
उसका लागि सिनियर टिमका ब्याटसम्यान भीम सार्की र सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । कार्कीले ४१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाउँदा सार्कीले शानदार ब्याटिङ गर्दै २४ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रन बनाए ।
त्यस्तै रोहित पौडेलले २३ रन थप्दा ओपनर विनोद भण्डारीले १७ र कुशल मल्लले ७ रन जोडे । बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १-१ विकेट लिए ।
पहिलो खेलमा आयोजक मदन मण्डारी स्पोर्टस् एकेडेमीको निलो टिमलाई हराएको आर्मी यो खेल पनि जित्दै सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बीचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।
यसअघिनै समूह ए बाट बागमती, समूह बी बाट एपीएफ तथा समूह सी बाट मधेश प्रदेशले सेमिफाइनलमा स्थान बनाईसकेका छन् । file photo