काठमाडौं,१२ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले दिएको १८७ रनको विशाल लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रनमा अलआउट भएपछि आर्मीले ३९ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
कोशीका लागि सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । त्यस्तै समिर कार्कीले ३४ तथा सुजन थपलियाले २१ रन जोडे । बलिङतर्फ आर्मीका जितेन्द्र मुखीया र सोमपाल कार्मीले समान २ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर सुरुवातमा ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रनको विशाल योगफल खडा गर्यो । उसका लागि सिनियर टिमका ब्याटसम्यान भीम सार्की र सन्तोष कार्कीले अर्धशतकीय पारी खेले । कार्कीले ४१ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५० रन बनाउँदा सार्कीले शानदार ब्याटिङ गर्दै २४ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ५३ रन बनाए । त्यस्तै रोहित पौडेलले २३ रन थप्दा ओपनर विनोद भण्डारीले १७ र कुशल मल्लले ७ रन जोडे ।
आर्मी सेमिफाइनलमा पुगेसँगै केपी ओली कपमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । यसअघिनै समूह ए बाट बागमती, समूह बी बाट एपीएफ तथा समूह सी बाट मधेश प्रदेशले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।