काठमाडौं,१२ मंसिर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनमा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० प्रतियोगीताको समूहचरणको खेल लगभग अन्तिम चरणमा पुगेको छ ।
समूह डी को एक खेल बाँकी रहँदै सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागेको छ । गत बिहीबारबाट पोखरामा जारी प्रतियोगीतामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको थियो ।
जसमा समूह ए बाट बागमती प्रदेशले दुबै खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । सिनियर टिमका स्टार स्पिनर सन्दीप लानमिछानेले कप्तानी गरेको बागमतीले समूहचरणमा कर्णाली प्रदेश र आयोजक मदन भण्डारी एकेडेमीको टिम रातोलाई हराएको थियो ।
त्यस्तै समूह बी अन्तर्गतको खेलमा एउटामात्र खेल जितेको विभागीय टिम एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गर्दा समूह सी बाट मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा सुदूरपश्चिलाई हराएको मधेश दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो ।
तर,आज भएको खेलमा पुलिसले सुदूरपश्चिमसँग लज्जास्पदरुपमा फकाकिलो अन्तरले हार व्यहोरेसँगै रेट रनरेटमा अघि रहँदै मधेशले सेमिफाइनलमा आफ्नो सीट सुरक्षित गरेको हो ।
उता आज भएको अर्को खेलमा कोशी प्रदेशलाई ३९ रनले पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मीले पनि सेमिफाइनलमा आफ्नो स्थान जोगाएको हो । अब आर्मीले फाइनल प्रवेशका लागि बागमतीसँग खेल्ने छ भने एपीएफले मधेशसँग खेल्नेछ ।
तीन विभागीय टिम र एक प्रदेश गरेर कूल चार टिमले सेमिफाइनलमा स्थान बनाउँदा उपाधि दावेदार मानिएको विभागीय टिम नेपाल पुलिस क्लवले भने यो सिजनमा नकआउट चरणबाटै घर फर्किनुपर्ने भएको छ । आज भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग अनपेक्षितरुपमा ४ विकेटको हार व्यहोरेको पुलिस रनरेटमा पछाडि रहँदा मधेशले फाइदा उठाउँदै सेमिफाइनल पुग्यो ।
विभागीय टिम पुलिसमा सिनियर राष्ट्रिय टिमका खेलाडीहरु कुशल मल्ल, अर्जुन साउद, आरिफ शेखदेखि करण केसी र सागर ढकाल तथा ललितनारायण राजवंशीसम्म रहेका थिए । तर, अन्तिम समयमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा पुलिसको उपाधि यात्रामा ब्रेक लाग्न पुग्यो । पुलिस अनायासै उपाधि होडबाट बाहिरिएजस्तै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीको रातो न निलो दुवै टिमले सेमिफाइनलमा स्थान बनाउन सकेनान् ।