गकलोट, १२ मङ्सिर । सहारा राहत कोष स्थापनाका लागि आगामी माघेसङ्क्रान्तिका अवसरमा तेस्रो जैमिनी महोत्सव हुने भएको छ । सहारा युवा क्बलले आगमी पुस २९ गतेदेखि माघ ५ गतेसम्म तेस्रो जैमिनी महोत्सव गर्न लागेको जानकारी दिएको हो ।
विसं २०७० देखि क्लबको अगुवाइमा मेला तथा महोत्सव हुँदै आएको छ । जैमिनी नगरपालिकाको सहयोगमा मेला आयोजना गरिएको क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । यो तेस्रो जैमिनी मेला हो ।
मेला आयोजना गर्न जैमिनी नगरपालिकाले २० लाख सहयोग गरेको छ । ४६ लाख आम्दानी गर्ने अनुमान गरिएको मेला सञ्चालनका लागि ३८ खर्च लाग्नेछ । बचत हुने ६ लाख ५० हजारको सहारा राहतकोष बनाइने आयोजकले जनाएको छ ।
कोषबाट असहाय, अशक्त, दीर्घरोगी गरिब तथा जटिल रोगीलाई सहयोग गरिने अध्यक्ष सुनारले बताए । मेलामा स्थानीय तथा बाह्य औद्योगिक उत्पादन सेवाको बिक्री, वित्तीय संस्थाको प्रदर्शनी कक्ष, कृषि, जडीबुटी तथा पशुजन्य उत्पादनको प्रदर्शन एवं बिक्री, सूचना प्रविधिसम्बन्धी परामर्श र घरेलु तथा हस्तकलाका सामानको पदर्शनी गरिनेछ ।
कुश्मिसेरा बजारको सहारा खेल मैदानमा हुने मेलामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला नौमती बाजा प्रतियोगिता र स्थानीय लोपन्मुख झाँकी प्रदर्शनी गरिनेछ ।
जैमिनी नगरपालिका–१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले ऐतिहासिक मेलाको प्रबद्र्धन र प्रचारप्रसार गर्दै संस्कृकिको संरक्षणका लागि गर्न थालिएको बताए । रासस