Logo

रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अंगिकार गर्ने,संघीयता र धर्मनिरपेक्षताबारे भएन निर्णय



काठमाडौं,१३ मंसिर । डेढ वर्षअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक दस्तावेज पारित गरेको छ ।

मंगलबार देखि मधेश प्रदेशको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री डा मुकुल ढकालले पेश गरेको राजनीतिक दस्तावेज पारित गरेको हो । महामन्त्री ढकालले पेश गरेको राजनीतिक दस्तावेजमा मुख्यतः तीनवटा राजनीतिक मान्यता अघि सारेको छ– सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद।

प्रतिवेदनको प्रस्तावनामा लेखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो।’

रास्वपाले आफूलाई वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्ने पार्टीको रुपमा अघि सारेको छ ।

‘लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत साधनको दीगो परिचालन गर्दै उद्यममैत्री,लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगा विस्तार, श्रमप्रति समर्पित,सामाजिक पूँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ’। रास्वपाले पारित गरेको प्रस्तावनामा भनेको छ ।

शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा उसले जोड दिने उल्लेख गरेको छ ।

यद्यपि, उसले प्रदेश संरचनाको आवश्यकता नभएको भनी गत निर्वाचनमा प्रदेश तहमा उम्मेदवारी नै दिएको थिएन। त्यसैले संघीयताप्रति यस दलको दृष्टिकोण अझै स्पष्ट हुन सकेको छैन।

संघीयता र धर्मनिरपेक्षताको बारेमा अस्प्रष्ट रहेको रास्वपाले भनेको छ । ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot