काठमाडौं, १३ मंसिर । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्ना पूराना भिडिओ क्लिपहरु सार्वजनिक गरिएपछि अहिले मुख खोलेका छन् । उनले मार्ग परिवर्तनको विषयमा अर्थमा अनर्थ भएको भन्दै आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् ।
उनले आफूले राजनीति सुरु गरेपछिका पहिलो तीन वर्षमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको पक्षमा प्रष्टसँग बोलेको भिडिओ क्लिपहरु अहिले खोजी खोजी प्रेषित गरेर केहीले महान काम गरेझैं सोचेर मख्ख परेको देखेको सुनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-
“मार्ग परिवर्तन”को अर्थमा भएको अनर्थ!
केही (न)साथीहरू मैले राजनीति शुरू गरेपछिका संभवत: पहिलो तीन वर्षमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पक्षमा प्रष्टसँग बोलेका भिडियो क्लिपहरू खोजी-खोजी प्रेषित गरेर “मैले क्या महान काम गरेँ” भनेर मक्ख परेको देख्छु।
उहाँहरू पढेलेखेकै मान्छे जस्तो देखिनु हुन्छ। तर उहाँहरूलाई “मार्ग परिवर्तन” अर्थ नै थाहा छैन जस्तो छ।
मैले त “म हिँडेको बाटो बदलिँदो भूराजनीतिक र आन्तरिक परिस्थितिमा देशको दूरगामी हितका लागि घातक देखियो त्यसैले मैले बाटो बदलेँ है” भनेर सार्वजनिक रूपमैँ घोषणा गरी “मार्ग परिवर्तन” गरेको हुँ।
तैपनि ‘विचरा’ उहाँहरू उत्पादनमूलक काममा समय खर्चिन छोडेर मेरो पुरानो बाटो उत्खनन गरेर बस्नुहुन्छ।
मैले स्वीकारिसकेको विषयमा त्यति दुख गरेर किन समय र उर्जा फाल्नुहुन्छ?! नगर्नोस्।
पुनश्च:
जब तथ्य परिवर्तन हुन्छ, म विचार परिवर्तन गर्छु। तपाईं के गर्नुहुन्छ, सर? (When the facts change, I change my mind. What do you do, sir?)
जन मेनाड किन्ज,
आधुनिक समयका एकजना प्रभावशाली अर्थशास्त्री तथा दार्शनिकको भनाइ।