Logo

फाइनल प्रवेशका लागि बागमतीले दियो आर्मीलाई १२८ रनको लक्ष्य



काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशले फाइनल प्रवेशका लागि विभागीय टिम नेपाल आर्मीलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन जोड्यो । उसका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ५० रन बनाए । त्यस्तै सन्दीप लामिछानेले १९ रन जोड्दा ओपनर रीत गौतम १४ रनमा आउट भए ।

बलिङतर्फ आर्मीका साहव आलमले ४ तथा सोमपाल कार्मीले २ विकेट लिए ।

आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी पहिलो पटक सन्दीप लामिछानेले गरेका छन् । दुवै टोलीले समूह चरणको खेलमा शतप्रतिशत जित निकालेका हुन् ।

दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) र मधेस प्रदेशबिच दिउँसो १ बजे हुनेछ । फाइनल खेल शुक्रवार हुनेछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्