Logo

लैङ्गिक,जातीय,वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका विभेद अन्त्य- रास्वपाको मुख्य प्राथमिकता



काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले लैङ्गिक, जातीय, वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका विभेद अन्त्य गर्ने विषय आफ्नो पार्टीको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेको छ ।

पार्टीको तीन दिनसम्म जलेश्वरमा चलेको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपा सभापति रवि लामिछानेले ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न पार्टी सदैव अग्रसर रहेको उल्लेख गरेका छन् ।

‘अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न पार्टी बाहिर मात्र होइन पार्टीभित्र पनि पहलकदमी लिनुपर्छ। जान-अन्जानमा व्यक्तिगत चरित्रका कारण पनि हामीले समाजमा विभेदयुक्त व्यवहार भोगिरहेका छौं। प्रत्येक पार्टी सदस्यले आफ्नो स्वतन्त्रताले अरूको स्वतन्त्रतालाई थिचोमिचो गरेको छ कि छैन ख्याल गर्नुपर्छ। पार्टीका कुनै पनि तह र तप्कामा रहेका कुनै पनि सदस्यबाट विभेदयुक्त व्यवहार स्वीकार्य हुँदैन। यसप्रति पार्टीमा शून्य सहनशीलताको नीति लागु गरिनेछ’ । उनले आफ्नो प्रतिवेदनमा भनेका छन् ।

उनले मिसन ०८४ का नाराहरुमा परिवर्तन हुनसक्ने र सरकारले ०८४ अधिनै मध्यावधि निर्वाचन गराउने सक्नेसमेत शंका ब्यक्त गरेका छन् । ठूलादलहरुप्रति जनतामा बढ्दै गएको नैराश्यताको प्रमुख कारकमा उनले पूराना दलहरुको व्यवहार राजनैतिक शैलीलाई मानेका छन् । समयअगावै मध्यावधि हुनेभन्दै उनले कार्यकर्तालाई तयारी हालतमा रहन निर्देशनसमेत दिएका छन् ।

‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने । त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने रु सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला रु पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन् । साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ । पार्टीको सबै संरचना लाई ‘स्ट्यान्ड बाइ’ रहन निर्देशन दिन्छु’ । उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्