काठमाडौं,१४ मंसिर । युगाण्डा पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
नामिबियामा जारी अफ्रिका क्षेत्रको छनोटमा रुवाण्डलाई ९ विकेटले हराउँदै पहिलोपटक विश्वकपमा छनोट भएको हो । युगाण्डासँगै अफ्रिकाबाट नामेबियाले पनि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अफ्रिकाबाट युगाण्डा र नामेबियाले विश्वकपमा सीट सुरक्षित गर्दा टेष्ट राष्ट्र जिम्बावे भने छनोटबाटै बाहिरिएको छ । जिम्बावेसँगै केन्या पनि विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ ।
अफ्रिकाबाट युगाण्डा विश्वकपमा छनोट भएसँगै अर्को वर्ष वेष्ट इण्डिज र अमेरिकामा संयुक्तरुपमा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट हुने २० वटै टिमको टुंगो लागेको छ ।
आयोजकका रुपमा वेष्ट इण्डिज र अमेरिकासीधै विश्वकपमा छनोट भईसकेका छन् ।
भारत, पाकिस्तान, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र श्रीलंका अघिल्लो संस्करणमा शीर्ष आठमा परेका कारण स्वतस् छनोट भएका हुन् ।
अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भए भने क्षेत्रीय छनोटमा युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी, अमेरिकी छनोटबाट क्यानडा तथा एसिया छनोटबाट नेपाल र ओमनले विश्वकपमा स्थान बनाएका छन् ।
४ जूनदेखि ३० जूनसम्म हुने विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिनेछ । समूहमा एक टोलीले चार खेल खेल्न पाउनेछन् । जसबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा दुई समूहमा विभाजन गरिनेछ । शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।