Logo

डडेल्धुराबाट देउवालाई ओलीको फोनः ‘जय नेपाल ! त्यता सबै ठीक छ नि ?’



काठमाडौं,१५ मंसिर । झुलाघाट चिवा भञ्ज्याङ यात्रा अर्थात मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार साँझ डडेल्धुरा पुगेका छन्।

बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो।

नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि ओलीले देउवालाई टेलिफोन सम्पर्क गरेका छन्।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर हार्दिकता साटासाट गरेका छन्। डडेलधुरा पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्ला पनि हो।

डडेलधुरा पुगेका बेला आफूले देउवालाई फोन गरेको ओलीले बताएका छन्। आफ्नो सचिवालयले गुडविल कलका रूपमा भिडियो बनाएपछि सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको पनि ओलीले बताएका छन्।

‘जय नेपाल’ भन्दै कुराकानी सुरू गरेका ओलीले आफूहरू गन्यापधुरा नजिकै बास बसेको र डडेलधुरा राम्रो रहेको बताएका थिए । ओलीले ‘तपाईंको जिल्ला आएको बेला यसो सम्झेको नि’ भन्छन् । उताबाट बोलेको स्पष्ट सुनिँदैन । तर ओलीले ‘थ्यांक्यु’ भन्दै ‘अनि त्यता सबै राम्रो छ नि !’ भनेर सोधेका छन् ।

‘सुन्दर डडेलधुरा ! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !,’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन्।

मंसिर १५ मा डोटीको सिलगढी र मंसिर १६ मा अछामको मंगलसेनमा बास बस्ने तय भएको छ। त्यहाँ आमसभाको पनि आयोजना गर्ने एमालेको तयारी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot