Logo

भूकम्प प्रभावित पत्रकारका लागि सहयोग



काठमाडौँ, १५ मङ्सिर । जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय खबर मिडिया इन्कबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

हिमालय खबरले स्थलगत अध्ययनपश्चात हिमालय खबर मिडिया इन्कमार्फत सङ्कलित एक लाख ३३ हजार नौ सय ७३ बराबरको चेक नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेललाई हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले हस्तान्तरण गरेका हुन् ।

सङ्कटको समयमा पीडामा परेका पत्रकारलाई सानो भए पनि राहतको मल्हम लगाउने प्रयास गरिएको हिमालय खबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।

हिमालय खबर मिडिया लिन्क परिवारले जाजरकोट र रुकुमका भूकम्प प्रभावित पत्रकारका लागि महासङ्घले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो रकम प्रदान गरेको हो । हिमालय खबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोगस्वरुप रकम सङ्कलन गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्