Logo

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ जनाको मृत्यु



बग्दाद, १५ मङ्सिर । इराकको पूर्वी प्रान्त दियालामा बिहीबार अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

दियाला प्रान्तीय कमान्ड अला अल–सादीका अनुसार इराकी राजधानी बगदाददेखि करिब ९० किलोमिटर उत्तरपूर्वी सहर बजिहियिा नजिकैको एउटा गाउँमा उक्त कार सडक किनारामा राखिएको बमसँग ठोक्किएको थियो । त्यसपछि कारमा अज्ञात बन्दुकधारीहरूले गोली चलाएका थिए ।

कारमा भएको दोहोरो हमलामा उनीहरूको मृत्यु भएको अल–सादीले बताए । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जातीयरूमा मिश्रित दियाला प्रान्तले सन् २००३ पछिका वर्षहरूमा कुर्दिश, सुन्नी र सिया समुदायहरूबीचको अशान्ति र छिटपुट हिंसाको सामना गरिरहेको छ ।

आतङ्कवादी समूह इस्लामिक स्टेट (आइएस) का केही अवशेषहरूले समयसमयमा सर्वसाधारण र इराकी सुरक्षा बलविरुद्ध हमला गर्दै आएका छन् । उनीहरू दियाला प्रान्तको पूर्वी भाग र प्रान्तको उत्तरमा रहेको हिमरिन पहाडी क्षेत्रमा सङ्गठित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्