काठमाडौं,१५ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा भएको प्रथम केपी अोली टी-२० क्रिकेट प्रतियोगीता समाप्त भएको छ ।
गत ८ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगीता शुक्रबार सिनियर राष्ट्रिय टिमका खेलाडीहरुलाई माथ खुवाउँदै मधेश प्रदेशलाई उपाधि जिताउँदै सकिएको हो ।
मधेशले फाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्यो र मधेशले दिएको १३६ रनको मध्ययम लक्ष्य पछ्याएको आर्मी १२५ रनमा समेटिएपछि पहिलो पटक मधेशले उपाधि जितेको हो ।
उपाधि जितेको मधेश प्रदेशका कप्तान हरिशंकर शाह प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएका छन् । आर्मीलाई फाइनलमा ११ रनले हराउन सानदार अलराउन्ड प्रदर्शन गरेका हरिशंकर सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
नेपाली टोलीबाट खेलि सकेका उले फाइनलमा आर्मीलाई हराउन २७ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । ११ औं ओभरमा विनोद भण्डारी, बसिर अहमद र कुशल मल्ललाई आउट गर्दै जित नजिक पुर्याएका थिए । उनले प्रतियोगिताभर ४१ रन बनाउनुको साथै १० विकेट लिएका थिए । सर्वोत्कृष्ट बापत उनले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने प्रतियोगिता उत्कृष्ट बलर चुनिए । सन्दीपले ३ खेलमा १० विकेट लिएका थिए । उता बागमतीकै ओपनर ब्याट्सम्यान रित गौतम प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । रितले तीन खेलमा २ अर्धशतकसहित कुल १ सय ७० रन बनाएका थिए । रित र सन्दीप दुबैले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उपाधि जितेको मधेशले ५ लाख र उपविजेतामा सिमित भएको आर्मीले २ लाख पुरस्कार पाउनेछन् ।