काठमाडौं,१७ मंसिर । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा भएको विवादपछि हत्या गरिएका अनेरास्ववियुका कार्यकर्ता विनोद शाहीलाई शहीद घोषणा गरेका छन् ।
एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको चौथा दिन आइतबार अछामको पञ्चदेवल पुगेका ओलीले शाहीलाई शहीद घोषणा गरेका हुन् ।
ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद शाहीलाई बेपत्ता बनाइ हत्या गरिएकोमा खेद व्यक्त गरे । एउटा होनहार युवाको हत्या गरेर अत्यन्तै घिनलाग्दो काम गरिएको ओलीले बताए । ‘म विनोद शाहीलाई शहीद घोषणा गर्दछु’, ओलीले भने ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावका बेला एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुुटपिट गरेका थिए । सोही क्रममा पञ्चदेवल विनायक नगरपालिका(४ का १५ वर्षीय विनोद शाही बेपत्ता भएका थिए । उनी जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए ।
शाहीको हत्या गरिएको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारी वकिलको कार्यालयले मेयर चलाउनेसहितका तीन जनाविरुद्ध प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।
नेकपा एमालेले सुदूरपश्चिम बैतडीको झुलाघाटबाट मध्यपहाडी पुष्पलाल लोकमार्गलाई आधार बनाएर पाँचथरको चिवाभञ्ज्याङ सम्म समृद्धिको लागि संकल्प यात्रा सुरु गरेको छ । यात्राका क्रममा मध्यपहाडको समस्या र विकासको सम्भावना पहिचान गर्ने एमालेले जनाएको छ ।