Logo

महाधिवेशन सार्ने तयारीमा माधव नेपाल, प्रतिवाद गर्ने खनाल पक्षको तयारी



काठमाडौं,१७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । समाजवादीले भोलि बस्नेगरी सचिवालय बैठक डाकेको हो । महाधिवेशनको मिति तय गर्न बैठक बोलाईएको एकीकृत समाजवादीले जनाएको छ ।

पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन सचिवालय बैठक बोलाइएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।

पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

२०७८ मा नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी गठन गरेका अध्यक्ष माधवकुमार नेपालले एमालेकै स्वरुप भन्दै माघ १४ देखि १८ सम्म पार्टीको १०औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेका थिए । तर, राष्ट्रिय सभाको निर्वाचनलाई बाहना बनाएर पुनः निर्वाचन सार्न खोजिएको भन्दै पार्टीभित्र असन्तुष्टि सिर्जना भएको छ ।

सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पक्षले भने पार्टीको महाधिवेशन सार्न नहुने बताउँदै आएको छ । स्रोतक अनुसार खनालले पार्टीको नेतृत्वमा दाबी गर्ने तयारी गरेका छन् ।

उता केहि महिनाअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुलाई जिम्मेवारी निर्धारण गर्दै अन्तर पार्टी निर्देशिका (अपानी) जारी गरेका थिए । उक्र अपानीप्रति धेरै नेताहरु असन्तुष्टि रहेका छन् । सम्मानित नेता खनाल पनि स्वयं असन्तुष्ट रहनृेमध्येका एक हुन् । उनले त अपानीलाई आठौं आश्चर्य, त आधुनिक नेपालको कोर्तपर्वको संज्ञासमेत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्